linktrix Long Ad
Salt Trading Long Ad

कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता — यी सबैमा मैले नेतृत्व गरेको हुँ : प्रचण्ड

1.16K
shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्दै भने, “पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ। उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिस्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो ।”उनले पुष्पलाल स्वयंप्रति आफ्नो निष्ठा स्मरण गर्दै थपे,“मैले एक रुपैयाँ लेवी तिरेर पुष्पलाल समूहमार्फत पार्टी सदस्यता लिएको थिएँ। पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै मैले दस्ताबेज पनि लेखेको थिएँ। त्यसैगरी झापा विद्रोहको सम्मान र पुष्पलालमाथि लगाइएको आरोपको खण्डन गर्दै दस्ताबेज लेख्ने अवसर पनि मलाई प्राप्त भएको थियो ।”

संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमार्फत जनतालाई गोलबन्द गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराए ।“संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई मार्क्सले जनताको साथ र विद्रोह बिना कागजका खोस्टा मात्र हुन् भनेका थिए । नेपालमा पनि संविधान सभाको बहस पहिले देखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन । माओवादी केन्द्रले जनयुद्धको सुरुवात गरी जनतालाई गोलबन्द गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो,” उनले भने ।अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबिचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरे ।

“कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता — यी सबैमा मैले नेतृत्व गरेको हुँ। अहिले पनि म कम्युनिस्टहरूको एकताको झन्डा बोकेको छु,” उनले भने ।वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा उनले जोड दिए ।“सर्वत्र मिडियाबाट भ्रम र निराशा फैलाउने काम भइरहेको छ। तर, हामीले जनतामा वर्गीय आशा जगाउनै पर्छ,” उनले बताए ।अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरे । “हामीले गरेका माओवादी आन्दोलनका सम्पूर्ण गतिविधि पुष्पलालकै विचारको आधारमा थिए,” उनको भनाइ थियो ।अध्यक्ष प्रचण्डले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान गरे । “कमरेड पुष्पलाललाई सच्चा सम्मान गर्ने हो भने कम्युनिष्ट क्रान्तिकारीहरूबिच एकता हुनुपर्छ,” उनले स्पष्ट पारे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports