विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति
वि.सं.२०८२ भदौ २ सोमवार ०८:५१
shares

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् ।
नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितले आइतबार राष्ट्रपतिसँग भेटवार्ता गराएका हुन् ।भेटका क्रममा इजरायली राष्ट्रपतिसँग विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरिन् ।
बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाई विद्यार्थीका रुपमा आएको र निदोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन् ।सो क्रममा राजदूत पण्डितले विभिन्न तवरबाट पहल गरेर जोशीको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए ।जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि कोशिस भइरहेको जानकारी गराए ।
जोशी रिहाइका लागि नेपाली समुदायले शनिबार (हिजो) साँझ तेलअभिभमा प्रदर्शन गरेका छन् । आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएका थिए ।इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँ पुगेका थिए । त्यस क्रममा विपिनकी बहिनी पुष्पा र आमा पद्मा प्लेकार्डसहित सहभागी भएका थिए ।































