जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई १५ लाख दिने सरकारको निर्णय
वि.सं.२०८२ भदौ ३० सोमवार १९:१९
shares

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै आज बसेको बैठकले जेनजी सहिद घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
उनले ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मान सहित अन्त्यष्टि गर्ने, असोज १ गते शोक मनाउने निर्णय भएको पनि जानकारी दिए। ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख र अन्य खर्चवापत ५ गरी १५ लाख दिने निर्णय भएको उनको भनाइ छ। यस्ता रकम अर्थमन्त्रालय मार्फत निकासा गर्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत वितरण हुनेछ।
ज्यान गुमाउनेहरू दुर्गम जिल्लाका भए यातायात र हवाई खर्च सरकारले बेहोर्ने निर्णय पनि आजको बैठकले गरेको अर्यालले जानकारी दिए। घाइतेहरूको नि:शूल्क उपचार जारी राख्ने निर्णय पनि भएको छ। त्यस्तै जेनजी आन्दोलनमा दमन भएको भनिएको र त्यसबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।
त्यस्तै ज्यान गुमाएका जेन्जीहरूको स्मरणमा जेन्जी जागरण स्मारक पार्क बनाउने र त्यसका लागि ठाउँ खोजी गर्ने निर्णय भएको अर्यालले बताए।




































