स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हटलाइन सेवा पुनः सुरु
वि.सं.२०८२ असोज ८ बुधवार १८:३२
shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हटलाइन सेवा पुनः सुरु गरेको छ । स्वास्थ्य सेवा प्रवाहमा हुने ढिलासुस्ती, कर्मचारीको लापरबाही वा अन्य कुनै पनि समस्याका लागि गुनासो सुनुवाइका लागि मन्त्रालयले हटलाइन सेवा सुरु गरेको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज एक सूचना जारी गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि गुनासो, सुझाव वा प्रतिक्रिया भए तोकिएका माध्यमबाट जानकारी गराउन अनुरोध गरेका छन् ।यो संयन्त्र मन्त्रालय तथा यस मातहतका विभाग, केन्द्र र अस्पतालहरूबाट प्रवाह हुने सेवामा केन्द्रित हुने जनाइएको छ । कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यका लागि दबाब दिएको तथा सेवा प्रवाहमा परेका कठिनाइहरूबारे यो सेवामार्फत सर्वसाधारणसँग प्रत्यक्ष संवाद हुनसक्ने जनाइएको छ ।
कोभिड महामारीको समयमा समेत प्रभावकारी रूपमा सञ्चालनमा रहेको यो संयन्त्रलाई पारदर्शिता र जबाफदेहिता थप सुदृढ बनाउन पुनः स्थापित गरिएको मन्त्रालयले जनाएको छ ।गुनासो, सुझाव वा प्रतिक्रिया दिनका लागि निम्न माध्यमहरू प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।
हटलाइन नम्बर: १११५
भाइवर तथा ह्वाट्सएप नम्बर: ९८५१३३०५९२
इमेलः info@mohp.ov.np
प्रवक्ताको सम्पर्क नम्बर: ९८५१२५५८३८
सूचना अधिकारीको सम्पर्क नम्बर: ९९५१३६३७५६



































