विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू
वि.सं.२०८२ असोज २९ बुधवार ०८:४३
shares

काठमाडौं । हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । मङ्गलवार इजरायलका परराष्ट्र मन्त्रालयका महानिर्देशक बार तालसँग परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले टेलिफोन वार्ता गरेसँगै जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको हो ।
सो वार्ताको क्रममा महानिर्देशक बारले हमासको कब्जामा रहेको जोशीको निधन भएको र उनको शव पहिचान भइसकेको जानकारी गराउँदै जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जानकारी गराएका हुन् ।हमासले विपिन जोशीको शव असोज २७ गते रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपछि तेल अविवस्थित फरेन्सिकमा शव पहिचान भएको इजराइलस्थित नेपाल दूतावासले जानकारी गराएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले विगत दुई वर्षदेखि विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक तहमा निरन्तर प्रयास गर्दै आएको थियो । तर इजरायल र हमासबिच युद्ध विरामपछि २०२५ अक्टोबर १३ मा भएको भर्चुअल बैठक मार्फत इजरायली अधिकारीहरूले जोशी रिहा हुने बन्दीहरूको सूचीमा नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएका थिए ।




































