आज भाइटीका : दिदीबैनी र दाजुभाइ नहुनेकालागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने
वि.सं.२०८३ कात्तिक २५ बुधवार ०८:१७
shares
/fgLkf]v/L sf7df8f}F,$ c;f]hM k'gMlgdf{0fkl5 kfgL e/]/ /d0fLo b]lvPsf] /fgLkvf]/L . tl:a/ M rGb|snf If]qL÷/f;;
काठमाडौँ । दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ।
वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूले पूजा तथा दर्शन गरेर टीका लगाउने गर्छन्। बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक सबै तयारी पूरा भएको जानकारी काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दिएका छन्।
यसैगरी, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा र दर्शन गरी टीका लगाउने प्रचलन छ। संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो।‘त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुन्थे,’ टण्डनले भने, ‘अहिले पनि भाइटीकाका दिन त्यहाँ भक्तजनको भीड लाग्छ।’
विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिरमा जाने गरेका थिए। भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। नेवार समुदायमा आफ्नो कुल परम्पराअनुसार कसैले आज त कसैले अघिल्लो दिन किजापूजा गर्छन्। भक्तपुरका अधिकांश नेवार समुदायले हिजो नै किजापूजा गरिसकेका छन्। त्यहाँको तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णय अनुसार भक्तपुरका नेवार समुदायले हिजो किजापूजा गरेको बताइएको छ।



































