भारतको बिहारको मुख्यमन्त्री नितिश कुमारले पद तथा गोपनीयताको शपथ लिए
वि.सं.२०८२ मंसिर ४ बिहीवार १४:४९
shares

काठमाडौं । भारतको बिहारको मुख्यमन्त्री नितिशकुमारले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहारमा नितिशकुमार १०औं पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
जनता दल युनाईटेड (जेडीयू) र भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बुधबार नितिश संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।हिजो नै राज्यपाल(प्रदेश प्रमुख) समक्ष सरकार गठनको दाबी पेश गरेका नितिशले बिहीबार दिउँसो पटनाको ऐतिहासिक गान्धी मैदानमा शपथ लिएका हुन् ।
मुख्यमन्त्री नितिशसँगै भाजपाका सम्राट चौधरीले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् ।शपथ समारोहमा प्रधनमन्त्री नरेद्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, एनडीए गठबन्धनका नेताहरू र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति थियो ।राज्यपाल आरिफ मोहम्मद खानले अर्का उपमुख्यमन्त्री विजय सिन्हा सहित २४ जना मन्त्रीहरूलाई पनि शपथ गराएका छन् ।बिहारमा हालै भएको विधानसभा निर्वाचनमा एनडीए गठबन्धनले २४३ सिटमध्ये २०२ सिट जित्दै बहुमत हासिल गरेको छ । गटठबन्धनको भाजपाले बिहार मन्त्रिमण्डलमा १४, जेडीयूले ८ र चिराग पासवानको लोकजनशक्तिले २ वटा मन्त्रालय पाएको छ ।बिहारमा गत ६ नोभेम्बरमा पहिलो र ११ नोभेम्बरमा दोस्रो चरणको विधानसभा निर्वाचन भएको थियो । १४ नोभेम्बरमा घोषणा गरिएको मतपरिणाम एनडीए गठबन्धनको भाजपा ८९ सिट जित्दै राज्यको सबभन्दा ठूलो दल बनेको छ ।
एनडीए गठबन्धनमै रहेको नितिशकुमारको जेडीयूले ८५ सिट जित्यो । सोही गठबन्धको चिराग पासवानको लोक जनशक्ति (राम विलास)ले १९ सिट जित्दै चौंथो दल बनेको छ ।जितन राम माझीको हिन्दुस्तानी अवम मोर्चाले पाँच सिट जित्दा उपेन्द्र कुशवाहाको आरएलएमले चार सिट जितेको छ । कंग्रेस आई र राष्ट्रिय जनता दल (आरजेडी) लगायत सम्मिलित महागठबन्धनले भने ३५ सिटमा मात्रै जित हासिल गर्यो ।
































