अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रिनल्याण्डमा बल प्रयोग नगर्ने घोषणा
वि.सं.२०८२ माघ ८ बिहीवार ०९:०३
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमा बल प्रयोग नगर्ने घोषणा गरेका छन्।
बुधबार स्वीट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) मा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी अधीनमा ल्याउन बल प्रयोग नगर्ने बताएका हुन्।’ग्रिनल्याण्ड लिन हामी बल प्रयोग गर्दैनौं। तर तपाईंहरूले अस्वीकार गरे अरू विकल्पबाट ग्रिनल्याण्ड अमेरिकाले लिन्छ,’ उनले युरोपेली नेताहरू सहभागी भएको कार्यक्रम भने।
ट्रम्पले ग्रिनल्याण्डको सुरक्षाका लागि अमेरिका मात्रै सक्षम भएको पनि बताए। विश्वयुद्धमा जर्मनीका अघि ६ घन्टामै ढलेको डेनमार्कले आफू र ग्रिनल्याण्ड दुवैलाई सुरक्षित राख्न नसक्ने बताए।’त्यसका लागि अमेरिकामात्रै सक्षम छ। ६ घण्टामै जर्मनीसामु ढलेको डेनमार्कले आफूलाई वा ग्रिनल्यान्डलाई जोगाउन सकेन। हामीबाहेक कुनै देश वा देशहरूको समूहले पनि ग्रिनल्याण्ड सुरक्षित राख्न सक्दैन,’ नेटो राष्ट्रहरूप्रति लक्ष्य गर्दै ट्रम्पले भने।
ट्रम्पले भनेको तेस्रो कुरा युरोपेली देशहरूप्रति लक्षित थियो। उनले युरोपेली देशहरूप्रति गुनासो र कटाक्ष गरे। अमेरिका युरोपबाट शोषणमा परेको बताए। युरोपेली देशहरूले अमेरिकाकै कारण कमाइरहेको र बदलामा केही नदिएको बताए।’संयुक्त राज्य अमेरिका नभएको भए यी देशहरूले केही पनि कमाइरहेका हुने थिएनन्। क्यानडा अमेरिकाकै कारण बाँचेको छ, यो कुराको हेक्का राख्नुपर्छ,’ ट्रम्पले भने।चौथो विषयमा युरोपप्रति आफ्नो धारणा राखे।
ट्रम्पले युरोपलाई पहिचान गुमाएको र विभिन्न कारणले बदलिएको बताए। त्यसको कारणमा अनियन्त्रित आप्रवासन र गलत नीति रहेको उनको भनाइ थियो।’आज युरोपका धेरै ठाउँ पहिले जस्तो प्रसिद्ध छैनन्। यदि अमेरिका थिएन भने तपाईंहरू आज केही जर्मनी र केही जापानी भाषा बोलिरहेको हुनुहुन्थ्यो,’ ट्रम्पले भने।ट्रम्पले भाषण गर्दा हलमा उपस्थितिहरूले कुनै किसिमको उत्साह नदेखाएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। उनले जति नै भड्किलो र लामो भाषण दिए पनि सहभागीहरू शान्त देखिएका थिए।
अन्तिममा उनले हावाबाट उर्जा निकाल्ने देशहरू मुर्ख हुन् भने। त्यसपछि बिदा भएका थिए।’अब म जान्छु। फेरि भेटौंला,’ अन्तिममा उनले भने। यद्यपि सभाहलमा उत्साह नदेखिएको सिएनएनले लेखेको छ।डाभोसको मञ्चमा ट्रम्पको भाषण, त्यसक्रममा उनले दिएको कठोर अभिव्यक्ति र युरोपेली नेताहरुको मौनताले अमेरिका-युरोम सम्बन्ध थप चिसिएको संकेत गरेको विश्लेषकहरू बताउँछन्।पछिल्लो समय ट्रम्पले ग्रिनल्याण्डलाई किनेर वा बल प्रयोग गरेर भए पनि अमेरिकी स्वामित्वमा ल्याउने भन्दै आएका छन्।
युरोपेली मुलुकुहरूले भने ट्रम्पको उद्धेश्य सुरक्षा नभई ग्रिनल्याण्डमा रहेको खनिज लक्षित रहेको बताउँदै आएका छन्।ग्रिनल्याण्ड र नेटो सदस्य राष्ट्र डेनमार्कले पनि ग्रिनल्याण्ड कुनै हालतमा अमेरिकी स्वामित्वमा नजाने बताउँदै आइरहेका छन्। ग्रिनल्याण्ड डेनमार्कको स्वशासित क्षेत्र हो।अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना प्रशासनका उच्च अधिकारी पठाएर ग्रिनल्याण्ड हासिलका लागि वार्ता समेत गरेका थिए।यद्यपि त्यसबाट प्रगति भएको ट्रम्पको अभिव्यक्तिबाहेक स्वयम् ग्रिनल्याण्ड, डेनमार्क र अन्य युरोपेली राष्ट्रहरूबाट पुष्टि हुन सकेको छैन।
युरोपेली राष्ट्रहरूले ट्रम्पले ग्रिनल्याण्ड लिन बल प्रयोग गरे नेटो पहिलेको जस्तो नहुने भनेर चेतावनी दिँदै आएका छन्।ग्रिनल्याण्ड र अमेरिकामा गरिएको सर्वेक्षणमा पनि ट्रम्पको कदमको जनताहरू विपक्षमा छन् भन्ने देखिएको छ।युरोपेली मुलुकहरूले आफ्नो कदममा विरोध जनाएपछि ट्रम्पले ती देशहरूमाथि १० प्रतिशत भन्सार बढाएका छन्।विरोध कायम राखे भन्सार दर अझै २५ प्रतिशतले बढाउने चेतावनी ट्रम्पले दिएका छन्।
भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याएपछि ट्रम्प ग्रिनल्याण्डबारे अझै उत्साहित र आत्मविश्वासी भएको भनेर विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन्।




































