दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
वि.सं.२०८२ फागुन ८ शुक्रवार १६:०७
shares

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी भएको छ । दुर्गा प्रसाईको हकमा उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।प्रकाउ पर्नुअघि प्रसाईंले आफूलाई प्रहरीले धरपकड गरेको र गिरफ्तार गर्न खोजेको भन्दै प्रहरी परिसर काठमाडौँलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए । प्रसाईंले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनी पक्राउ परेका थिए ।
यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।





































