मतदाता परिचयपत्र नभए यी कागजात देखाएर मतदान गर्न पाइन्छ
वि.सं.२०८२ फागुन १५ शुक्रवार ०८:२६
shares

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचनमा मतदाताले कुन पदमा कसरी मतदान गर्ने भन्ने सम्बन्धमा जानकारी राख्नु आवश्यक हुन्छ । नत्र, सानो गल्तीका कारण तपाईंले हालेको मत गणना नहुन सक्छ । अनि भोट हाल्न जाँदा कुन कागजात चाहिन्छ, त्यो पनि बोकेर जान भुल्नु हुँदैन ।
निर्वाचन (मतदान) निर्देशका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।यस्तै, राष्ट्रिय/परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र लिएर मतदान केन्द्रमा जान सक्नेछन् । सोबमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जान सक्नेछन् ।यस्तै, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी कर्मचारी र सरोकारवालालाई सूचना सम्प्रेषण गर्ने निर्णय भएको आयोगले उल्लेख गरेको छ ।
मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण एकाइ खडा गर्ने र सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौंको तर्फबाट दुई जना कर्मचारीलाई तोकिनेछ ।





































