एमाले नेता थापाको अन्त्येष्टि आज शनिबार गरिने, आइतबार पोखरा नगरपालिकामा सार्वजनिक विदा
वि.सं.२०८२ फागुन ३० शनिवार ०८:३३
shares

पोखरा । पोखरा उपमहानगरपालिकाका तत्कालीन मेयर गण्डकी प्रदेश सभाका पूर्व सांसद तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णबहादुर थापाको अन्त्येष्टि शनिबार गरिने भएको छ ।
बिहीबार हृदयघातका कारण निधन भएका उनको शव मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । शनिबार अन्त्येष्टि गर्ने तयारी भइरहेको एमाले कास्कीले जनाएको छ ।पूर्वमेयर थापाको निधनमा शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनी २०५४ देखि २०५९ सालसम्म पोखराको मेयरको रूपमा कार्यरत थिए ।
एमाले कास्कीले पार्टी कार्यालयमा थापाको शवलाई श्रद्धाञ्जलीका लागि राख्ने जनाएको छ । जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार बिहान ८ देखि १० बजेसम्म जिल्ला पार्टी कार्यालयमा र १०ः४५ देखि १०ः४५ सम्म महानगरपालिकाको प्राङ्गण दमकल राख्ने ठाउँमा उनको शव राख्ने बताइएको छ।११ बजे पोखरा १६ बाटुलेचौरबाट थापाको शवयात्रा सुरु हुने पार्टीले जनाएको छ । नेता थापाको निधनमा नेकपा एमाले कास्कीले फागुन ३० गतेदेखि चैत २ गतेसम्म (३ दिन) जिल्ला तथा मातहतका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
साथै जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राखिने र यसअघि तय भएका बैठक, भेला लगायतका सम्पूर्ण औपचारिक कार्यक्रमहरू चैत ३ गतेसम्मका लागि स्थगित गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।





































