रवि लामिछानेले भोली शपथ लिन नपाउँने ?
वि.सं.२०८२ चैत ११ बुधवार ०९:०५
shares

काठमाडौं । चैत १२ गते अन्य २७४ जना सांसदले पद तथा गोपनीयताको शपथ लिँदा चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने लिन नपाउने भएका छन् ।
सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा खेपिरहेकाले लामिछानेले त्यो दिन शपथ ग्रहण गर्न नपाउने मात्र होइनन, उनले सांसदका रूपमा संसद् बैठकमा समेत भाग लिन पाउँदैनन् ।लामिछाने सांसदका रूपमा सक्रिय हुन पाउने बाटो खोल्ने गरी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मुद्दा फिर्ता लिने तयारी गरे पनि कानुनी अडचनका कारण पूरा भएन । कानुनले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्तामा बन्देज लगाएको छ । यसपछि कार्की सरकारकी महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेको अभियोग नै संशोधन गर्ने निर्णय गरेकी थिइन् ।
यो मुद्दासँग जोडिएका कुनै एक जनाको मात्र मुद्दा फिर्ता र अभियोग संशोधन गर्न कानुनले रोकेपछि सहकारी ठगी प्रकरणमा लामिछानेसँगै जोडिएका र हाल फरार रहेका उनका व्यापारिक साझेदार जीबी राईको समेत अभियोग संशोधन गरी मुद्दा फिर्ता लिने कार्की सरकारको तयारी थियो । त्यसैअनुसार महान्यायाधिवक्ताले लामिछानेलगायतमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।तर सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको सो निर्णयविरुद्ध रिट परेपछि सुशीला कार्की सरकारबाटै यो विषय टुंगिने सम्भावना सकिएको हो । सर्वोच्च अदालतमा यो रिटमाथि लगातार सुनुवाइ भए पनि अझै निर्णय आएको छैन । मंगलबार पनि यो रिटमाथि सुनुवाइ भएको थियो । तर, बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको छ ।
आगामी बिहीबार चैत १२ गते मात्र अब यो रिटमाथि सुनुवाइ हुनेछ । त्यसै दिन रविकै पक्षमा फैसला आए पनि जिल्ला अदालतहरूबाट अभियोग शंसोधनको पक्षमा फैसला आएर त्यसै दिन मुद्दा फिर्ता भई लामिछोनेले शपथ लिने सम्भावना निकै कम रहेको छ ।उनको विपक्षमा निर्णय भएमा भने मुद्दाको किनारा नलाग्दासम्म लामिछानेले सांसदका रूपमा काम गर्न पाउने छैनन् । उनको पदावधि बाँकी रहँदै यो मुद्दाको फैसला उनको पक्षमा आए वा मुद्दा नै फिर्ता भयो भने उनी शपथ लिन पनि पाउँछन् र सांसदका रूपमा पनि क्रियाशील हुन पाउँछन् ।
नयाँ सांसदहरूलाई ज्येष्ठ सांसद कांग्रेसका अर्जुननरसिंह केसीले १२ चैतमा शपथ गराउनेछन् ।
































