ओली र लेखकलाई २ दिन हिरासतमा राख्न अनुमति
वि.सं.२०८२ चैत १९ बिहीवार २०:०९
shares

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेतासमेत रहेका पूर्व गृहमन्त्री रमेश लेखक थप दुई दिन हिरासतमा रहने भएका छन् ।
जेनजी प्रदर्शन दबाएको आरोपमा पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको हो । गौरीबहादुर कार्की आयोगले ओली र लेखकमाथि ज्यान मुद्दामा अनुसन्धान गर्न प्रतिवेदनमार्फत सिफारिस गरेपछि प्रहरीले चैत १४ गते बिहान निवासबाटै नियन्त्रणमा लिएको थियो ।
प्रहरीले १० दिन म्याद थपको अनुमति मागेकोमा न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले २ दिनमात्र दिएको हो । दोस्रो पटक म्याद थपका लागि ओली र लेखकलाई अदालतमा उपस्थित भने गराइएको थिएन । भर्चुअल माध्यमबाट उनीहरूले इजलाससमक्ष आफ्ना कुरा राखेका थिए ।
ओलीको आजदेखि बयान लिन थालिएको छ । शिक्षण अस्पतालमा उपचाररत उनीसँग जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयको टोलीले त्यहीँ पुगेर बयान लिन थालेको हो । अदालतले स्वास्थ्य उपचारमा असर नपर्ने गरी अनुसन्धान कार्य सम्पन्न गर्न आदेश दिएको छ ।
लेखक भने जिल्ला प्रहरी परिसरको हिरासतमै छन् । उनको बयान त्यहीँ चलिरहेको छ ।शनिबार पक्राउ परेका दुवै जनालाई सोही दिन जिल्ला अदालतमा उपस्थित गराएर प्रहरीले पाँच दिनको म्याद लिएको थियो । दोस्रो पटक थपिएको २ दिनको म्यादभित्र अनुसन्धान नसकिए पुन: अनुमति लिनुपर्नेछ ।





































