स्ट्रेट अफ हर्मुज छिटै खुल्छ :अमेरिकी राष्ट्रपति ट्रम्प
वि.सं.२०८२ चैत २९ आइतवार ०८:४१
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनावका बीच ‘स्ट्रेट अफ हर्मुज’ छिट्टै खुल्ने दाबी गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै ट्रम्पले अमेरिकाले इरानको नौसेना र वायुसेना लगायतका सम्पूर्ण सैन्य संयन्त्रलाई ध्वस्त पारेको समेत दाबी गरेका छन्।इरानसँगको दुई हप्ताको ससर्त युद्धविरामको सन्दर्भ जोड्दै ट्रम्पले भनेका छन्, ‘यदि स्ट्रेट अफ हर्मुज पुन: खोल्न सहमत हुन्छ भने म बमबारी रोक्न तयार छु।’ उनले खाली तेल ट्याङ्करहरू अमेरिकी तेल लिनका लागि अगाडि बढिरहेको समेत बताएका छन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले यो रणनीतिक समुद्री मार्ग बन्द गरेको थियो।विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा यही मार्ग भएर जान्छ।यसैबीच, पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच शान्ति वार्ता भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले वार्तामा स्ट्रेट अफ हर्मुज, इरानको आणविक कार्यक्रम, प्रतिबन्धहरू हटाउने, युद्धको क्षतिपूर्ति र यस क्षेत्रमा जारी युद्धको पूर्ण अन्त्यका विषयमा विस्तृत छलफल भइरहेको जानकारी दिएका छन्।
बाकाईले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत वार्ताको सफलता अमेरिकाको गम्भीरता र इरानको वैध अधिकार तथा हितको स्वीकारोक्तिमा निर्भर रहने बताएका छन्।




































