अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरी बढ्यो
वि.सं.२०८३ भदौ २९ सोमवार १४:३३
shares

साउदी अरेबियामाथि हुथी विद्रोहीको नयाँ आक्रमण र खाडी क्षेत्रमा जहाजहरूमाथि भएका इरानी आक्रमणका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट गहिरिएको छ। यसैबीच, साउदीको मुख्य तेल पाइपलाइन बन्द भएको विषयले थप चिन्ता बढाएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
बजार खुल्दा प्रारम्भिक चरणमा ३ प्रतिशतभन्दा बढीले बढेको ब्रेल क्रुडको भाउ पछि २.७७ प्रतिशत (२.९० डलर) ले बढेर प्रतिब्यारेल १०७.५१ डलर पुगेको छ भने डब्लूटीआई फ्युचर्स पनि २.२७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३२ डलरमा पुगेको छ।ऊर्जा आपूर्तिमा देखिएको यो अवरोधले गत हप्ता मात्रै तेलको मूल्य ८ प्रतिशतले बढेर जुलाईयता पहिलो पटक प्रतिब्यारेल १०० डलर नाघेको थियो।
गत शुक्रबार इराकबाट प्रहार गरिएको ड्रोन आक्रमणका कारण साउदी अरेबियाको पूर्व-पश्चिम तेल पाइपलाइन बन्द भएको छ। यसले होर्मुज जलमार्गलाई छलेर हुने तेल निकासी रोक्दा विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशत हिस्सा जोखिममा परेको छ।
ऊर्जा आपूर्तिमा आएको यो भूराजनीतिक अवरोधले विश्वभर मुद्रास्फीति झनै चर्काउने चिन्ता बढाएको छ। पछिल्लो अमेरिकी उपभोक्ता मूल्य सूचकांक अपेक्षारूपमा चर्को आएपछि अमेरिकी केन्द्रीय ब्याङ्क (फेडरल रिजर्भ) ले बुधबार नै २५ आधार विन्दुले ब्याजदर बढाउने सम्भावना ८६ प्रतिशत पुगेको छ।



































