प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने
वि.सं.२०८३ असार ३१ बुधवार १३:४९
shares

काठमाडौं । प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बस्छ । आजको बैठक सुरु भइसकेको छ ।
त्यसपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिममा राख्ने सहमति प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छ ।‘साउन १४ गते अर्को बैठक राख्ने गरी छलफल भएको छ । यसबारे सभामुखले नै सदनमा जानकारी गराउनुहनेछ,’ कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले भने ।बैठकको अन्तिममा सभामुखले अर्को बैठक बस्नेल समय तोक्ने गर्दछन् ।आजको प्रतिनिधिसभाको बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नकै लागि आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि सारिएको हो ।आजको बैठकमा प्रधानमन्त्री वालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि आजै पेस गर्ने कार्यसूची छ ।अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने बिधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसपछि सन्धिमाथि छलफल र अनुमोदनको कार्यसूची छ ।युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धीमाथि सदनमा छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् ।आजै अनुमोदन गर्ने कार्यसूची छ । अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, माथि छलफल गर्ने र अनुमोदन गर्ने कार्यसूची छ ।



































