भोटेकोशी बाढीको क्षतिपूर्तिको माग गर्दै नेपालले संयुत्त राष्ट्रसघको जलवायु कोषमा पठायो पत्र
वि.सं.२०८३ भदौ १९ शुक्रवार ०९:३८
shares

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति तथा आपत्कालीन सहयोग माग गर्दै नेपालले संयुक्त राष्ट्रसंघअन्तर्गतको हानि तथा नोक्सानी कोषमा औपचारिक पत्र पठाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको हस्ताक्षरमा अगस्ट ३१ मा कोषको सञ्चालक समितिलाई पत्र पठाइएको हो।
नेपालले भोगेको क्षति जलवायु परिवर्तनसँग जोडिएको भन्दै सरकारले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमुख मुद्दाका रूपमा उठाउने तयारी गरेको छ। मन्त्री चौधरीले अल्पविकसित राष्ट्रहरूको बैठकका क्रममा विभिन्न देश तथा अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गर्दै नेपालका लागि जलवायु वित्त र हानि–नोक्सानी कोषबाट तत्काल सहयोग उपलब्ध गराउन आग्रह गरेकी छन्।
यता परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा नगन्य योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको बताएका छन्। भोटेकोसी विपद्लाई मानवीय संकटसँगै हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमका रूपमा लिनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पनि प्रतिनिधिसभामा बोल्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो दाबी प्रस्तुत गर्नुपर्ने बताएका छन्।
सरकारको प्रारम्भिक आकलनअनुसार भोटेकोसी बाढीबाट करिब ७ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। ७ हजार ५७० भन्दा बढी भवन, ११ जलविद्युत् आयोजना तथा सडकसहित विभिन्न पूर्वाधारमा क्षति पुगेको छ भने करिब १६ लाख मानिस प्रभावित भएका छन्। क्षतिको यकिन विवरण पोस्ट डिजास्टर निड्स एसेस्मेन्ट (पीडीएनए) मार्फत तयार गरिने सरकारले जनाएको छ।





































