नेपाली युवा बक्सर घीमिरे बने बिश्व च्याम्पियन
वि.सं.२०८३ भदौ २१ आइतवार ०९:०४
shares

काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा फ्रान्सका विश्व च्याम्पियन बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै ऐतिहासिक जित हात पारेका छन् ।
जापानको नागोया सहरस्थित करिया हलमा शनिबार साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९’ अन्तर्राष्ट्रिय प्रतियोगिताको मेन इभेन्टमा घिमिरेले सन् २०२५ का विश्व च्याम्पियन चोइनार्डलाई दोस्रो राउण्डको दोस्रो मिनेटमा नकआउट गर्दै पराजित गरेका हुन् ।घिमिरेले कडा मुक्का प्रहार गरेपछि चोइनार्ड नकआउटमा परेका थिए । यससँगै घिमिरेले अन्तर्राष्ट्रिय किक बक्सिङमा अर्को महत्वपूर्ण सफलता हात पारेका छन् ।
हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका घिमिरेले २१ खेलमा जित हासिल गरेका छन् । उनले जितेका २१ मध्ये २० खेल नकआउटमार्फत जितेका छन् ।किक बक्सिङमार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्याउँदै आएका घिमिरेलाई नेपाली खेलकुदका चम्किला ताराका रूपमा लिइन्छ ।
विजय प्राप्त गरेपछि घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने बताए । साथै, उनले आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।



































