१७ जना सहसचिवको सरूवा, को कहाँ ?
वि.सं.२०८३ असोज १४ बुधवार १७:५२
shares

सरकारले नेपाल प्रशासन तथा इन्जिनियरिङ सेवाका १७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)हरूको सरुवा तथा कामकाजको व्यवस्थापन गरेको छ ।
मन्त्रिपरिषद्को २०८३ असोज १३ गते बसेको बैठकको निर्णयानुसार विभिन्न मन्त्रालय, निकाय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा कार्यरत सहसचिव जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
अर्थ मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव राम कृष्ण पुडासैनीलाई दाङस्थित घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ ।धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईलाई आदिवासी जनजाति आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भूपेन्द्र थापालाई लगानी बोर्डको कार्यालयको सहसचिवका रूपमा सरुवा गरिएको छ ।
त्यसैगरी सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा रहेका डा. पुष्पराज शाहीलाई सुनसरीस्थित धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुम्पिएको छ ।अतिरिक्त समूहकै सहसचिव वेदप्रसाद खरेललाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा पठाइएको छ भने चिरञ्जीवी पौडेललाई राष्ट्रिय दलित आयोगको सचिव बनाइएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गत हेरफेर गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव उदयबहादुर राना मगरलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव होमनाथ पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत काज फिर्ता वा सरुवा गरिएको छ ।गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिवहरू आनन्द सारु र मेखबहादुर मङ्ग्राती दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत सरुवा गरिएको छ । गृह मन्त्रालयकै अर्का सहसचिव सुरेन्द्र पौड्याललाई राष्ट्रिय समावेशी आयोगको सचिव पदमा खटाइएको छ ।
राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव कृष्णबहादुर शाही तथा अर्थ मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव विष्णुप्रसाद ज्ञवाली दुवै जनालाई गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ ।रष्ट्रिय मुस्लिम आयोगका सचिव नवराज घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव युवराज अधिकारीलाई राष्ट्रिय मुस्लिम आयोगको सचिवको जिम्मेवारी दिइएको छ ।






































