पूर्व सांसद धनेन्द्र बहादुर बस्नेतको निधन
वि.सं.२०८३ असोज १५ बिहीवार ०७:४३
shares

काठमाडौं । झापा आन्दोलनका अगुवा, नेपाली कम्युनिस्ट आन्दोलनका अथक योद्धा, वाम साहित्यकार तथा संखुवासभाका पूर्व सांसद घनेन्द्रबहादुर बस्नेतको निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित बस्नेतको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार साँझ करिब पौने ८ बजे निधन भएको संखुवासभाका पूर्व सांसद एवं नेकपा (एमाले) का नेता राजेन्द्र गौतमले जानकारी दिए।
गौतमका अनुसार बस्नेतको स्वास्थ्य अवस्था बुझ्न बुधबार दिउँसो ३ बजे एमाले केन्द्रीय सचिव राजन भट्टराई, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय सदस्य गौतम तथा सूर्य थापा अस्पताल पुगेका थिए। उनीहरूले बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै अस्पताल प्रशासनको समेत गम्भीर ध्यानाकर्षण गराएका थिए।तर, अस्पतालमा भएको उक्त भेटघाट नै बस्नेतसँगको अन्तिम भेट बन्न पुगेको गौतमले बताए। बस्नेतको निधनप्रति एमाले नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
झापा आन्दोलन हुँदै नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका बस्नेत वाम साहित्यकारका रूपमा समेत परिचित थिए। उनको निधनले नेपाली कम्युनिस्ट आन्दोलन तथा वाम साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको एमाले नेताहरूले बताएका छन् ।







































