आजदेखी अग्रिम टिकट खुल्यो, बसपार्कमा रातीदेखि नै टिकट लिन लाईन
वि.सं.२०८३ असोज २३ शुक्रवार ०८:४२
shares

दशैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । चाडपर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले आजदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको थियो ।अब फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाडी तथा लामो/मध्यम दूरीका सवारीसाधनलाई नेपालभरका लागि रुट–परमिट खुला हुनेछ ।
टिकट खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको लामो लाइन लागेको छ । टिकट छिटो पाइने आशमा युवाहरू रातिदेखि नै काउन्टर अगाडि लाइन बसेका हुन् ।दशैँलगायत चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि नहुने र पूर्वनिर्धारित भाडामा नै आवातजावतको व्यवस्था गर्न प्रतिबद्ध रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताए ।
वर्षा र प्राकृतिक प्रकोपका कारण धेरै ठाउँमा बाटो बिग्रिएकाले जोखिम मोलेर कुनै पनि सवारीसाधन नचलाउन चालकहरूलाई आग्रह गरिएको उनको भनाइ छ । यस वर्षाको बडादशैँअन्तर्गत विजया दशमीको टीका ४ कात्तिक ४ गते लगाइँदै छ ।




































