नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त
वि.सं.२०७८ फागुन ५ बिहीवार १७:२६
shares

पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न बनेको छनोट समितिमै लामो समय विवादित बन्यो । पछि नेप्से र बोर्ड सत्ता साझेदार दुई प्रमुख दलबीच भागवण्डा गर्ने सहमति भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहानामा हमाल अध्यक्ष नियुक्त भएका हुन् ।
को हुन् हमाल ?
डोटीको धनगढीमा सामान्य परिवारमा जन्मिएका हमालले विद्यालय तहको अध्ययन भने कैलालीको धनगढीमा पूरा गरे । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हमालले ८ वर्ष नेपाल विद्युत् प्राधिकरणमा समेत काम गरे ।
पूर्ण छात्रवृतिमा अध्ययन गर्न थाइल्याण्डको बैंकक पुगेका हमाल लामो समय उतै बसे । बैंककबाटै इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नात्तकोत्तर गरेका उनले बैंककमा छँदा त्यहाँको विद्यार्थी युनियनको अध्यक्ष समेत भए । ४५ देशका विद्यालर्थीहरुको प्रतिनिधित्व गर्दै युनियनको अध्यक्ष भएका उनी सन् २००७ देखि २०१० सम्म गैर आवासीय नेपाली संघ (एनआरएनए), थाइल्याण्डको को अध्यक्ष भए । थाई–नेपाल चेम्बर अफ कमर्समा पूर्वउपाध्यक्ष समेत भइसकेका हमाल ६ वर्ष अघि नेपाल फर्किएका थिए ।
करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका उनले संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफ अपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत हमाल सँग छ ।
६ वर्ष अघि पनि नेपालमा केही गर्नुपर्छ भन्ने सोच बनाएर आफू स्वदेश फर्किएको हमाल सुनाउँछन् । उनले नेपाल फर्किए लगत्तै थाइल्याण्डको चर्चित होटल ब्राण्ड दुषित थानीको चेन होटलको रुपमा काभ्रेमा पाँचतारे होटल निर्माण गरिरहेका छन् । होटलको काम ९० प्रतिशत सकिएको र आगामी दशैं अगावै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताएका छन् ।
आफूले विदेशमा सिकेको सीप र ज्ञानलाई भरपुर उपयोग गरेर बोर्डको नेतृत्व सम्हाल्ने उनले प्रतिक्रिया दिए । ‘म यहाँ केही गरौं भनेर आएको छु, सबैको सल्लाह सुझाव लिएर म काम गर्छु’ उनले भने, ‘यो क्षेत्रमा सुधार गर्नुपर्ने ठाउँहरु धेरै छन्, म त्यसका लागि काम गर्छु ।’





































