राजदूत पौडेल फिर्ता
वि.सं.२०७६ फागुन २२ बिहीवार १६:४१
shares

काठमाडौ । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनका लागि राजदूत रहेका पूर्व मुख्य सचिव लिलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । पौडेलको ठाउँमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व परराष्ट्रमन्त्री समेत रहेका नुवाकोटका महेन्द्र बहादुर पाण्डेलाई राजदूत बनाउने सिफारिस गरेको छ । राजदूत पौडेललाई १५ दिन भित्रमा काठमाडौमा आउन म्याद दिएको छ ।
राजदूत पौडेलको चारवर्षे म्याद सकिन केही महिनामात्र बाँकी रहेकोमा सरकारले उनलाई फिर्ता बोलाउने निर्णय किन ग¥यो भने अहिले चर्चाको विषय बनेको छ । पौडेललाई फिर्ता बोलाउने निर्णयमा किन गर्नुप¥यो र फिर्ता बोलाउनु प¥यो भनेर केही नखुलाईए पनि पौडेल मुख्य सचिव रहेका बेला ललिता निवास जग्गा काण्डमा मुछिएका हुनसक्ने आशंका गरिएको छ । हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा काण्डमा मुछिएका १ सय ७५ जनालाई विशेष अदालतमा मुद्दा दायर गर्दा पौडेललाई उन्मुक्ति दिएको थियो । चीनमा कोरोना भाइसर फैलिरहेका बेला पौडेललाई फिर्ता बोलाएर नयाँ राजदूत पठाउन लागिएको छ । संसदीय सुनुवाई र चीनले स्वीकृति दिनुपर्ने लगायतका कारणले नयाँ राजदूतमा सिफारिस भएका पाण्डेले आफ्नो जिम्मेवारी सम्हाल्न कम्तिमा दुई महिना कुर्नुपर्ने अवस्था देखिन्छ ।
केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गरिएको भएपनि ओली सरकारले राजिनामा दिएपछि पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएपछि उक्त निर्णयलाई उल्टाएर पौडेललाई राजदूत बनाइएको थियो । प्रधानमन्त्री ओलीको दुई वर्षे कार्याकामा उनी राजदूत पौडेलसँग सन्तुष्ट रहेका थिएनन् । प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा देखिनै उनी राजदूत पौडेलसँग असन्तुष्ट रहेका थिए ।
पछिल्लो समयमा सरकारले पौडेलको गतिविधिका बारेमा सरकारले प्रश्न उठाउँदै आएको थियो । परराष्ट्र मन्त्रालयसँग समेत राजदूत पौडेलको राम्रो सम्बन्ध नभएको र उनी पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग मात्र निकट रहेकाले उनलाई फिर्ता बोलाउनु परेको हो भन्ने चर्चा परराष्ट्र मन्त्रालयभित्रै चलेको छ । अब उनी फिर्ता आएपछि ललिता निवास जग्गा काण्डका बारेमा सोधपुछ हुनसक्ने सम्भावना रहेको सूत्रले दाबी गरेको छ ।




































