२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजा ज्ञानेन्द्रले जन्मदिनलाई उत्सवका रूपमा नमनाउने

988
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने बताएका छन् । पूर्वराजाले असार २३ गते पर्ने जन्मदिन विषम स्थितिलाई दृष्टिगत गर्दै नमनाउने निर्णय गरेका हुन् ।

‘राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेको छु,’ पूर्वराजाले बुधबार निकालेकोे सन्देशमा भनिएको छ, ‘राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले भ्रष्टाचार, लापरवाही, पक्षपात र भेदभावका विषयलाई लिएर युवाहरु सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ भन्दै प्रश्न पनि गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धी सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद् विषय–सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ?’

पूर्वराजा शाहले अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताए ।

पूर्वराजाको सन्दशको पूर्ण पाठ–

नेपाल बहुजातीय, बहुभाषिक र बहुविध भौगोलिक विशेषता रहेको मुलुक हो । परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता हो । त्यसैले अहिले देशमा पन्पिँदै गएको जातीयता, वर्गीयता र क्षेत्रीयताका सङ्कीर्ण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई राम्रो गर्दैन ।

अहिले नेपाल पनि विश्वव्यापी कोरना महामारीबाट आक्रान्त छ । यो अकल्पनीय व्याधीबाट जीवन गुमाएका र पीडाग्रस्त रहेका सबैप्रति श्रद्धा तथा समवेदनाका साथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दछु । संक्रामक रोगको यो समयमा नेपाली जनताले भोग्नुपरेको गाँस, बास र कपासलगायतका विविध समस्या समाधान गरियोस् भन्ने आग्रह पनि गर्दछु । साथै यो अवधिमा बढ्दै गएको मानसिक वेदना, सामाजिक विकृति एवम् आर्थिक बेतिथिप्रति म गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु ।

विविध बाध्यताका कारण विदेशिएका कतिपय नेपालीहरू स्वदेश फर्कने क्रममा रहेका छन् । चुनौतीपछि आएको यो समय–सन्दर्भ एक असर पनि र अवसर पनि हो । फर्कने सबैको श्रम, शिप र सामर्थको सदुपयोग गरी आफ्नै देशभित्र इलम, उद्यम र काम–धन्दाको व्यवस्था मिलाइनु पनि नितान्त जरुरी रहेको छ ।

बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रीति, संस्कृति र पवृत्तितिर फर्कनु जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वावलम्बनको परिपाटी फेरि कायम हुन्छ । केही दशक अघिसम्म आफ्नै गौरवगाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि उँचो पार्न परेको छ ।

हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवम् स्वाभिमानमाथि बराबर किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धि–सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा र दुःखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ? भ्रष्टाचार, लापर्वाही, पक्षपात र भेदभावका कुरा किन दिनहुँ उठिरहन्छ ? यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक सङ्घर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ? यी सब सोचनीय विषय तथा विचारणीय कुराहरूको प्रश्न उब्जिरहेको छ ।

आजको यो कालखण्डमा परस्पर आरोप–प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कसैको हित कदापि हुँदैन । नेपाल राष्ट्रको एकीकरण, नेपालको स्वाधीनताको संरक्षण र सर्वतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आम हेक्काको विषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नु पर्दछ । राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतीतबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।

राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेको छु । साथै यतिखेर मेरा भावनाप्रति श्रद्धा, शुभेक्षा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई धैर्य, दृढता र साहसका साथ अघि बढ्न आव्हान गर्दछु ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports