गठबन्धनको भविष्य रेणुको हारजितमा भर पर्ने
वि.सं.२०७९ वैशाख १५ बिहीवार १२:४५
shares

काठमाडौ । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मध्येको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भने जीवन मरणको सवाल सरह भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल भरतपुर महानगरको मेयरमा पुन उम्मेदवार बनेकी छन् । उनलाई जुनसुकै सर्तमा पनि जिताउनुपर्ने पाँच दलीय गठबन्धन र खास गरी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई बाध्यता रहेको छ ।
पाँच दलीय गठबन्धनका अन्यत्रका उम्मेदवारहरुले हारुन् कि जितुन् त्यसमा माओवादी केन्द्रका अध्यक्ष दाहाल र कांग्रेसका सभापति देउवालाई कुनै मतलब छैन तर रेणुले जुनसुकै सर्तमा पनि जित्नु नै पर्दछ, त्यसैमा मात्र दाहाल र देउवालाई सरोकार रहेको छ ।
पाँच दलीय गठबन्धनको भविष्य रेणु दाहालको हार जितमा भर पर्ने अवस्था सिर्जना भएको छ । यदि रेणुले जितिन् भने पाँच दलीय गठबन्धन कामय रहन सक्छ । हारिन् भने गठबन्धन टुट्न सक्ने भय देउवालाई रहेको र आफ्नो पदै गुम्न सक्ने डरले गर्दा कांग्रेसका सभापति समेत रहेका देउवा चितवन कांग्रेसले चाहे जे सुकै भनोस् तर दाहालले जित्नुपर्दछ भन्दै त्यसै अनुरुपका निर्देशन चितवन कांग्रेसलाई दिईरहेका छन् ।
चितवन कांग्रेसले भरतपुर महानगरको मेयर आफूहरुले पाउनुपर्ने माग गर्दै आएको र २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवारलाई सहयोग गरेको हुनाले यस पटक माओवादी केन्द्रले मेयर पदमा कांग्रेसलाई सघाउनुपर्ने बताँउदै आएको थियो तर माओवादी केन्द्रका अध्यक्ष दाहालले अन्यन्त्र कुनै महानगरमा पनि माओवादी केन्द्रले निर्वाचन जित्न नसक्ने भन्दै आफ्नै छोरीलाई मेयर पदमा जिताउन कांग्रेससँग याचना गरेका थिए । त्यही कारणले गर्दा कांग्रेस नेतृत्वले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुको भावना विपरित निर्णय गरेर भरतपुर महानगर माओवादी केन्द्रलाई जिम्मा लगाएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र पनि चितवन नै रहेको र भरतपुर महानगर र माडी नगरपालिका पनि दाहालकै निर्वाचन क्षेत्रभित्र पर्ने भएकाले दाहालले कुनै सर्तमा पनि मेयरमा आफ्नी छोरीले जित्नैपर्ने बताउँदै आएका छन् ।
मेयर पदमा छोरीको हार भएको खण्डमा संघीय संसदको निर्वाचनमा आफूपनि हारिने भय दाहाललाई रहेको छ । त्यही कारणले गर्दा दाहालले भरतपुरको मेयर पदको जित हारलाई आफ्नो जित हारको जीवन मरणको रुपमा हेरेका छन् । त्यसै कारणले गर्दा उनी प्रायः प्रत्येक हप्ता भरतपुर पुग्ने गरेका छन् भने अहिले स्थानीय तहको निर्वाचनका बेला त प्रायः दुई तीन दिनमा भरतपुर पुग्ने गरेका छन् ।
भरतपुर कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले विद्रोह गरि मेयर पदमा उम्मेवारी दिएपछि दाहाललाई संकट थपिएको छ । त्यसै कारणले गर्दा अध्यक्ष दाहालकै जोड बलमा पाँच दलीय गठबन्धनले पाँच दलीय गठबन्धनमा रहेका दलका बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिएर गठबन्धन उम्मेदवारलाई जिताउन आग्रह समेत गर्ने निर्णय गरेको छ ।
केन्द्रबाट भएको निर्णयलाई चितवन कांग्रेसले स्वीकार नगरेपछि प्रधानमनत्री देउवाले चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवारलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि कांग्रेस नेता तथा मेयरका उम्मेदवार जगन्नाथ पौडेलले त्यसलाई अस्वीकार गर्दै सभापतिलाई भेट्न समेत अस्वीकार गरेका छन् । पौडेलले काठमाडौ आउन नसक्ने बताएपछि सभापति निकट रहेका गृहमन्त्री बालकृष्ण खाँणलाई दूतका रुपमा चितवन पठाएका भएपनि उनले समेत पौडेललाई मनाउन सकेनन् ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चामा रहेका नेता कार्यकर्ताहरुले मुलुकभरमै बागी उम्मेदवारी दिएका छन् । त्यसमा पनि सबैभन्दा बढी बागी उम्मेदवार नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताहरुबाट परेको हुनाले गठबन्धन नै संकटमा परेको छ ।
माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले पनि केही ठाउँमा बागी उम्मेदवारी दिएका छन् भने एकीकृत समाजवादीका जिल्ला अध्यक्षहरुले त पार्टी नै परित्याग समेत गरिसकेका छन् । समाजवादी पार्टीको भागमा परेको मकवानपुरको जिल्ला अध्यक्ष सहितका धेरै नेता तथा कार्यकर्ताहरुले पार्टी नै परित्याग गरेका छन् । जिल्ला अध्यक्ष सहित अन्य कार्यकर्ताले पार्टी नै परित्याग गरेपछि समाजवादीलाई अर्को संकट थपिएको छ ।
जनता समाजवादी पार्टी भित्र पनि त्यही हालत रहेको छ । अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुको लर्को लागि रहेका बेला पाँच दलीय गठबन्धन भित्रै संकट आउनु र त्यसमा पनि आफ्नै छोरीको हारजितलाई पुष्पकमल दाहालले जीवन मरणको सवाल बनाउनुले गर्दा स्थानीय तहको निर्वाचनको परिणामपछि गठबन्धन टुट्न सक्ने प्रबल सम्भावना रहेको छ ।
नेपाली कांग्रेसका सभापति देउवा र पार्टीका नेता रामचन्द्र पौडेललाई संघीय संसदको निर्वाचन पछि देउवालाई प्रधानमन्त्री नै बनाईदिने र पौडेललाई राष्ट्रपति बनाईदिने दाहाल नेपालको आश्वासनमा देउवा–पौडेल रमाउन थालेका भएपनि कांग्रेसका असली नेता तथा कार्यकर्ताहरुले त्यसको विरोध गर्दै आएका छन् ।





































