३ सय ९० जना जनप्रतिनिधिहरू निर्बिरोध, १३८ एमालेका, कुन दलका कति ?
वि.सं.२०७९ वैशाख २५ आइतवार ०७:११
shares

काठमाडौँ ।वैशाख ३०मा हुने स्थानीय तह निर्वाचनमा देशभर निर्विरोध हुनेजनप्रतिनिधिहरुको संख्या ३९० जना पुगेको छ । यसअघि निर्विरोध हुने प्रतिनिधि ३५२ जना रहेको निर्वाचन आयोगले जनाएको थियो । आयोगको पछिल्लो अध्यावधिक तथ्यांक अनुसार निर्विरोध निर्वाचित हुनेको संख्या ३९० पुगेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिगराम शर्मा पौडैलले पहिला प्रावधिक कारणले गर्दा कतिपय स्थानीय तहको तथ्यांक अपडेट गर्न बाँकी देखिएकोले कम देखिएको बताए ।
निर्विरोध हुनेमा नेकपा एमालेको १३८ जना सहित पहिलो बनेको छ । कांग्रेसका तर्फ बाट ११५ जना मात्रै रहेका छन । त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फ बाट ५९ जना, नेकपा एकीकृत समाजवादी (एस) बाट ३५ जना र स्वतन्त्र ३५ जना अन्य दल बाट ८ जना निर्विरोध निर्वाचित भएका छन् । सबैभन्दा धेरै निर्विरोध कर्णालीमा १५७ जना भएका छन । त्यस्तै सवैभन्दा कम लुम्बिनीमा देखिएको छ । लुम्बिनीमा जम्मा ८ जना मात्रै निर्बिरोध भएका छन ।
कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला लगायतको जिल्लामा बढी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै कर्णाली पछि गण्डकी प्रदेश देखिएको छ । गण्डकीमा ११२ जना निर्वरोध भएका छन । यस्तै प्रदेश १ मा ४३ जना, बागमती प्रदेशमा ४६ जना, सुदूरपश्चिम प्रदेशमा १५ जना र मधेस प्रदेशमा ९ जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्विरोध निर्वाचित हुने स्थानीय तहको अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्षमा महिलाको उपस्थिति ३.६३ प्रतिशत देखिएको छ । देशभर ३९० जना निर्विरोध निर्वाचित भएकोमा ६३.३ प्रतिशत महिला देखिए पनि उनीहरूको उपस्थिति सदस्यहरूमा मात्रै रहेको छ । सदस्य मध्ये महिला सदस्य र दलित सदस्य आरक्षित पद बाहेक वडाध्यक्ष, पालिका अध्यक्ष र उपाध्यक्षमा भने महिलाको उपस्थिति कम देखिएको हो ।
आयोगका अनुसार ३ ओटा पालिकाका अध्यक्ष निर्विरोध हुँदा तीनै जना पुरूष रहेका छन भने ४ जना उपाध्यक्ष निर्विरोध हुँदा डोल्पालको काईके गाउँपालिकामा कांग्रेसकी निमा बुढा निर्विरोध भएका छन् । अन्य ३ मा पुरूष रहेका छन् । ४८ जना वडाध्यक्ष निर्विरोध हुँदा १ जना मात्रै महिला रहेकी छन । ४८ मध्ये हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ४ को अध्यक्षमा नेपाली कांग्रेसकी ४३ वर्षीय रंगमति शाही निर्विरोध भएका छन् भने ४७ जना भने पुरुष रहेका छन ।




































