२३ वेब पोर्टल माथि कारबाही, १३७ सञ्चारमाध्यमलाई सचेत गराइयो : निर्वाचन आयोग
वि.सं.२०७९ वैशाख २५ आइतवार १५:५२
shares

काठमाडौं ।निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपाल भित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोग बाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपाल बाट सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले बताएको छ । आयोगका अनुसार हाल सम्म निर्वाचन आचारसंहित उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ ।
यस्तै, चैत २५ गते देखि वैशाख २२ गते सम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई गम्भीर बन्न निर्देशन दिइएको छ । आठ वटा मिडियालाई लिखित रुपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार माध्यमलाई लिखित रुपमा आचारसंहित कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ ।




































