चुनाव प्रचार प्रसार गर्ने आज अन्तिम दिन, आज राती १२ बजेदेखी मौन अवधि सुरू
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०७:३१
shares

काठमाडौं ।स्थानीय तहको निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले बताएको छ। चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुनेछ। मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको छ। यही वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।
निर्वाचन ऐनअनुसार मतदान हुनुभन्दा ४८ घन्टा पहिले देखि मौन अवधि सुरू गरिन्छ।शुक्रबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदानका लागि समय दिइएको छ। आयोगले मौन अवधि पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार लगायत सरोकारवाला सबैमा आग्रह गरेको छ।
मौन अवधिमा भोट माग्ने लगायत कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ भने सामाजिक सञ्जाल बाट पनि चुनावी प्रचारका सामग्री हटाउन निर्देशन दिएको छ। सामाजिक सञ्जाल बाट चुनावी प्रचार गरेको पाइए हटाइने पनि आयोगको भनाइ छ। यसका लागि निगरानी गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई जिम्मेवारी दिइएको छ।





































