kumari
stcnepal

कांग्रेस पनि आन्तरिक द्वन्द्वकै शिकार

काठमाडौ । संघीय संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो फागुन महिनामा गर्ने निर्णय भएपश्चात् कांग्रेस समेत आन्तरिक द्वन्द्वमा फसेको छ । सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचमा सहमति हुन नसकेकै कारण काँग्रेस द्वन्द्वमा फस्दै गएको छ । केन्द्रीय नेतृत्व चयन समेतलाई प्रभाव पार्ने क्रियाशिल सदस्यता वितरणको विषयले नै कांग्रेस आन्तरिक द्वन्द्वमा फसेको हो । पार्टीका वरिष्ठ नेता पौडेल पक्षले सभापति देउवाले आफ्नो उम्मेदवारीलाई बलियो बनाउने गरी सदस्यता वितरणमा विधान र प्रक्रिया मिच्न थालेको भन्दै पौडेल पक्षले महाधिवेशनको निष्पक्षतामाथि नै प्रश्न उठाइरहेको छ । सभापति देउवाको निर्णय विरुद्ध पौडेल पक्षले असोज १ गते पार्टीको केन्द्रीय कार्यालयमा एक ज्ञापनपत्र दर्ता गराएकोमा त्यसमा पनि सदस्यता वितरणलाई नै मुख्य विषयमा समेटेको छ । कांग्रेसमा हाल ४ लाख ७० हजार सदस्य रहेको र आउँदो महाविधेशनलाई ध्यानमा राखेर त्यतिनै संख्यामा नयाँ सदस्यता वितरण गर्ने निर्णय पहिला नै गरिएको छ । नयाँ निर्णयअनुसार कार्य भएमा अब कांग्रेसको सदस्य करिब ९ लाख ५० हजार पुग्ने भएको छ ।

क्रियाशिल सदस्यता पालिका तहमा, क्षेत्रीय प्रतिनिधि चयन गर्ने मतदाता हुने कांग्रेसको विधानमा उल्लेख छ । उनीहरुबाट चयन हुने महाधिवेशन प्रतिनिधिहरुले केन्द्रमा पदाधिकारी सहित केन्द्रीय सदस्यहरु निर्वाचित गर्ने भएकाले केन्द्रीय सभापतिका उम्मेदवारहरुको चासो क्रियाशिल सदस्यता वितरणमा देखिएको छ । अहिले ७४ जिल्लामा क्रियाशिल सदस्यता वितरण र नविकरणको काम भईरहेको छ । सिन्धुपाल्चोक, बारा र सप्तरीमा भने पुरानो संरचना समायोजना भई नसकेकोले सदस्यता वितरण र नविकरणको कार्य रोकिएको छ । पौडेल पक्षले नयाँ सदस्यता वितरणमै आपत्ति जनाउँदै आएको छ भने नयाँ सदस्यता वितरणमा पनि अन्य राजनीतिक दलहरुबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरु पछिल्लो समयमा सभापति देउवा पक्षमा गएको खण्डमा पौडेल पक्ष अझ कमजोर हुने र इतरपक्ष एक हुन नसकेको खण्डमा १४ औं महाधिवेशनबाट सभापति देउवा नै फेरी सभापतिमा निर्वाचित हुन सक्ने सम्भावना रहेको छ ।

सभापति देउवाले केही महिना अघि ठुलो संख्यामा कार्यकर्ताहरुलाई समेट्न सकिने भन्दै पार्टीका विभागहरुको संख्या बढाएका थिए । एउटा विभागमा ५० जना भन्दा बढी सदस्य राख्न सकिने व्यवस्था भएकाले २० वटा विभागमा गरी झण्डै ९ सय कार्यकर्तालाई विभागको सदस्यमा मनोनित गरेका छन् । अन्य ९ विभाग गठन गर्ने प्रक्रिया भएपनि पौडेल पक्षको विरोधका कारण विभाग गठन राकिएको छ । यसरी संसदको प्रमुख प्रतिपक्षी दल समेत आन्तरिक द्वन्द्वमा फसेका हुनाले उसले संघीय संसद र प्रदेशसभामा समेत प्रमुख प्रतिपक्षी दलको भूमिका निभाउन नसकेको हुनाले कांग्रेसको अवस्था दिन प्रतिदिन कमजोर अवस्थामा पुगेको छ ।

footer