एमाले र कांग्रेसले मनाङ बाट खाता खोले
वि.सं.२०७९ वैशाख ३१ शनिवार ०६:४९
shares

काठमाडौं ।स्थानीय तह निर्वाचनमा संसदको ठुलो दल नेकपा (एमाले) र संघीय सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले मनाङबाट विजययात्रा सुरु गरेका छन् ।
मनाङका चार मध्ये एमाले र कांग्रेसले एक/एक गाउँपालिकाको अध्यक्ष जितेका छन् । दुई गाउँपालिकाको नजिता आउन बाँकी छ । नेपाली कांग्रेसले नार्पाभूमि गाउँपालिका र एमालेले चामे गाउँपालिकाको अध्यक्ष जितेको हो ।
नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भए । लामाले १५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार कृष्ण लामाले १११ मत पाए ।
यस्तै, चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भए । यसअघि पनि गाउँपालिकाको नेतृत्व गरेका घलेले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई ४१ मतले पछि पारे । घलेले ३ सय २० मत ल्याउँदा लामाले २ सय ७९ मत ल्याए ।
चामे गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भइन् । उनले ३ सय २५ मत ल्याइन् ।






































