kumari
stcnepal

दल र सरकारकै कारण सडकमा आउन जनता बाध्य

विगत पाँच सात महिना देखि नेपालको राजनीतिमा अनौठो अनौठो दृष्यहरु देखिन थालेका छन् । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीले त्यस्ता दृष्यहरु देखाउँदै आएको छ । निर्वाचनको बेला जनतालाई झुठा आश्वासनहरु दिएर सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो समयको चरित्र हेर्दा जनता आफूहरु झुक्किएको र आफूहरुलाई निर्वाचनका बेला ठुला ठुला आश्वासन दिएर आफ्नो मत लिन सफल भएको नेकपालाई अहिले सरापी रहेका छन् । सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा जनता दिन प्रतिदिन आफूहरुले पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित हुँदै गएका हुनाले त्यसैको विरोधमा जनता सडकमा आउन बाध्य भएका छन् । पार्टी र सरकारले जनताका समस्या बुझ्न नसकेको र आफ्नो गुटको बाहेक अन्य सबै जनताको सरकार भएका अनूभूति दिलाउन नसकेको हुनाले उसका विरुद्ध सडकमा नारा लाग्न थालेपछि सत्ताधारी दल भने आन्तरिक विवादमै रमाउन थालेको छ । सत्ताधारी दलका दुई अध्यक्षहरुले एकले अर्कोलाई आरोप प्रत्यरोप लगाउँदै तल्लो स्तरका गाली गलौजमा उत्रिएका छन् । पार्टीका दुवै अध्यक्षहरुले पार्टीको सचिवालयमा एक अर्काको विरुद्ध आरोप लगाउँदै आरोपपत्र नै दर्ता गरेका हुनाले नेकपाको तल्लो स्तरका कार्यकर्ताहरु आ आफ्नो पक्षमा लागेका हुनाले पछिल्लो समयमा पार्टी विभाजनको मुखमा पुगेको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपश्चात् गएको निर्वाचनमा उनीहरुले झण्डै दुई तिहाई मत संघीय संसदमा पाएको भएपनि अहिले नेकपालाई त्यही दुई तिहाई मत घाँडो सावित भएको छ । पार्टीका दुई अध्यक्षहरु बीच भएको सहमति दुवै अध्यक्षहरुले उल्लंघन गर्दै आ आफ्नो रणनीतिका साथ अगाडि बढेको हुनाले सरकार सञ्चलनमा समेत त्यसको प्रत्यक्ष असर परेको छ । संविधान निर्माण पश्चात् पनि मुलुकले सही रुपमा निकास पाउन सकेको छैन । भन्ने बेलामा जनताले बनाएको संविधान भनिएता पनि संविधान निर्माणका बेला जनताले दिएको सुझावहरुलाई वेवास्ता गरिएको हुनाले अहिले संविधान नै असफल भएको जस्तो देखिएको छ । संविधानसभाबाट संविधान निर्माण गर्दा जनताले मुलुकलाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने सुझाव दिएका थिए । संविधान निर्माणका बेला संविधान सभाका सदस्यहरुलाई जनताको राय सुझाव लिन गाउँ गाउँ पठाइएको थियो । सांसदहरुले जनताका सुझाव लिएर आएका भएपनि त्यस्ता सुझावका पोकाहरु नै नखोली जनताका सुझावलाई वेवास्ता गर्दै मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो अहिलेको समस्याको जड भनेको त्यही हो त्यही कारण अहिले जनता सडकमै आएर मुलुकलाई पुनः हिन्दुराष्ट्र कायम गर्ने माग गरिरहेका छन् । तत्कालिन संविधानसभा अन्र्तगत रहेको विवाद समाधान समितिका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईको लहड, केही पश्चिमा मुलुकहरु र क्रिश्चियन मेसेनरीको सहयोगमा डा. बाबुराम भट्टराईले मुलकुलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने मुख्य भूमिका खेलेको थिए । उनले त्यसैबेला आफ्नो कार्यकक्षमै पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए शत्प्रतिशत जनताले मुलुक हिन्दु राष्ट्र घोषणा हुनुपर्दछ भन्ने सुझाव दिएपनि त्यो लागु हुन सक्दैन र त्यस्ता सुझावका पोकाहरु नै खोलिदैनन् भनेर बोलेका थिए । त्यसैले प्रष्ट हुन्छ उनी हिन्दुहरुप्रति कति रुष्ट रहेका रहेछन् भनेर । अहिले पनि डा. भट्टराई सडकमा उत्रिएका जनतालाई गाली गरिरहेका छन् । नेपाल मात्र विश्वमा हिन्दुराष्ट्र भनेर चिनिएको अवस्थामा त्यो पहिचान मेटाउन भट्टराई सहितका अन्य केही नेताहरु लागेका र त्यसैले गर्दा त्यही देखि नेपालमा विवादको विऊ रोपिएको थियो । त्यसबेला जनताले बुझेका थिएनन् । साँच्चिकै राजनीतिक दल र तिनका नेताहरुले आफ्ना सबै समस्याहरुको समाधान गरिदिने विश्वास जनतामा थियो तर पछिल्लो समयमा ठीक उल्टो काम भयो । जनतालाई सत्तामा पुग्ने भ¥याङ्ग बनाउनु बाहेक जनताले केही पाउन सकेन । पढ्ने बेलामा विद्यार्थीहरुले किताब पाउँदैन, धान रोप्ने बेलामा कृषकले मल पाउँदैनन्, भएका उद्योग धन्दाहरु बेचेर खाईसकेका छन् । दिनहुँ युवा युवतीहरु विदेशिन बाध्य भएका छन् । अहिले तिनै विदेश गएका व्यक्तिहरुले नेपालमा पठाएको रेमिट्यान्सले मुलुक धानेको छ । नेताहरुले तलब भत्ता लगायत सबै सेवा सुविधा त्यही रेमिट्यान्सबाट खाइरहेका छन् । एउटा राजा पाल्न गाह्रो भयो भन्नेहरुले ६१ वटा राजा पाल्नु परेको छ । पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, पूर्व प्रधानन्यायाधिश, पूर्व प्रतिनिधिहिरुका सभामुख र पूर्व राष्ट्रियसभाका अध्यक्षलाई आजिवन जनताले सेवा सुविधा सहित पाल्नु परेको छ । जनताले काम गरेर खान नपाईरहेको बेला विशिष्ठ पदाधिकारीहरुको नाममा जनताले तिरेको करमाथि ब्रह्मलुट मच्चाइँदै आएको छ । त्यही कारण जनतामा निरासा बढेको छ, त्यसैले गर्दा जनता सडकमा आउन बाध्य भएका छन् । जनतालाई सडकमा आउन बाध्य पार्ने काम राजनीतिक दल र सरकारबाटै भएको हो ।

संविधानमा जनतालाई सार्वभौमसत्ता भनिएता पनि जनताले आफूलाई सार्वभौमसत्ता सम्पन्न भएको अनुभूति सम्म गर्न पाएका छैनन् । जनताले संविधानले दिएको अधिकार समेत उपयोग गर्न पाएका छैनन् । संविधानले राष्ट्र, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई मात्र अपरिवर्तनीय भनेको छ । संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई सविधानले नै परिवर्तनीय भनि स्वीकार गरेको हुनाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरोध गर्दा संविधानको विरोध गरे भनेर जनतालाई धम्क्याउने, त्रास देखाउने काम राजनीतिक दल र सरकारबाटै भएको छ । त्यही संविधान अनुसार गठन भएको सरकारले त्यही संविधानमा व्यवस्था गरिएका अधिकारहरु खोस्ने दुष्प्रयाससम्म गर्न थालेको छ । सत्ताधारी दलका अध्यक्षले नै जनतालाई धम्क्याउन थालेका छन् । आफूहरुले गणतन्त्र ल्याएको भन्दै गणतन्त्रको फल, आफूले मात्र लिनु पाउनुपर्ने जस्ता गैर सम्वैधानिक कुरा गरी जनतालाई डर त्रास देखाउन थालिएको छ । वास्तवमा भन्ने हो भने सत्ताधारी दलका अध्यक्ष पुष्पकमल दाहालले सबैभन्दा बढी फल गणतन्त्र खाएका छन् । आफ्नो परिवारका सबैलाई सरकारी पदमा आसिन गराएका छन् । आफ्ना नातागोता सबै सरकारी पदमा रहेका छन् । त्यसैले प्रष्ट हुन्छ हिजो राजाले प्रयोग नगरेका अधिकारहरु समेत उनले प्रयोग गरिरहेका छन् । के गणतन्त्र भनेको दाहालको निजी सम्पत्ति हो त ? पछिल्लो समयमा जनताको आक्रोश सडकमै पोखिन थालेका छन्, त्यसैको फलस्वरुप मुलुकभरमै विरोध प्रदर्शन भईरहेका छन् । गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरुद्ध नारा जुलुस भईरहेका छन् । जनता स्वस्फूर्त रुपमा सडकमा आएका छन् । सडकमा आएका जनतालाई सरकारका मन्त्रीहरुले भूतप्रेत सम्म भन्न भएका छन् । गाउँघरमा अहिले पनि एउटा उखान छ, भूतप्रेत लाग्यो भने मनसाउनुपर्दछ, भुतप्रेत लागेको घर ध्वस्त हुन्छ भन्ने अहिले जनतालाई भूतप्रेत भन्नेहरुलाई थाहा होस् । भूतप्रेत तपाईहरुलाई लाग्यो भने तपाईहरुको खैरात हुँदैन । त्यसैले सडकमा आएका आफ्नो अधिकार खोज्नेलाई सर्ताउने काम बन्द गर्नुहोस्, यही हाम्रो कामना ।

footer