बेथानचोकमा भगवान् अधिकारी दोब्बर मत भन्दा बढी मतले अघि
वि.सं.२०७९ जेठ ४ बुधवार १२:५८
shares

काभ्रे ।बेथानचोक गाउँपालिकामा आधाभन्दा धेरै मत गनिसक्दा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका भगवान् अधिकारीले दोब्बर भन्दा धेरै मतको अग्रता लिएका छन्। खसेको १० हजार ७ सय ३४ मत मध्ये ५ हजार ८ सय ३२ मत गनिसक्दा अध्यक्षका प्रत्यासी अधिकारी आफ्ना निकतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाभन्दा १७ सय ६६ मतले अघि छन् । अधिकारीले ३२ सय ६३ मत ल्याएका छन्। त्यस्तै तिमल्सिनाले १४९७ मत ल्याएका छन्।
उपाध्यक्ष तर्फ गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी तारा राना तिमल्सिनाले २४ सय २६ मत ल्याएकी छिन्। एमालेकी सरला लामिछानेले १७ सय २८ मत ल्याएकी छिन्।
बेथानचोकमा वडा १, ६ र ५ को मतगणना सम्पन्न भइसकेको छ। त्यसमध्ये वडा १ र ६ मा कांग्रेसको प्यानलै विजयी भएको छ। वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भएका छन्। बाँकी सबै सदस्य कांग्रेसका छन्। अहिले वडा ४ को मतगणना जारी छ।
को हुन् अधिकारी ?
पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी लामो समय देखि राजनीतिमा सक्रिय छन्। केही समय प्राध्यापन पेशामा बिताएका अधिकारीले अहिले सम्म कुनै पनि लाभको पद लिएका छैनन्।
उनी विद्यार्थी आन्दोलनका चर्चित अनुहार हुन्। नेविसंघको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्वजिल्ला सभापतिका रूपमा कार्यकाल सम्हालिसकेका अधिकारीलाई २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसले समानूपातिक सांसद्को बन्दसूचिमा राखेको थियो। त्यसबाट राजिनामा दिएर उनी यसपटक गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका हुन्।




































