kumari
stcnepal

हिजो गरेको गल्तीको क्षमा माग कांग्रेस

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार विरुद्ध संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार मंसिर (२९) गते मुलुकभरमै विरोध सभा गरेको छ । कांग्रेसका नेताहरु ७७ वटै जिल्लामा पुगेर विरोध सभामा सहभागि भएका छन्, काठमाडौ उपत्यका लगायतका सबै ठाउँमा कांग्रेसका कार्यकर्ताहरु व्यापक उपस्थिति रहेको थियो । ओली नेतृत्वको सरकार गठन भएको ३ वर्षपछि कांग्रेसले सरकारको विरुद्धमा विरोध सभा गरेको हो । प्रमुख प्रतिपक्षी दलले सरकारले गरेका राम्रा कामको समर्थन गर्दै सरकारलाई सही ठाउँमा ल्याउने भन्दा पनि पार्टीगत स्वार्थका लागि मात्र विरोधसभा गरेको जस्तो देखिएको छ । मुलुक कोरोना भाइरसबाट आक्रान्त भएको बेला संसदको प्रमुख प्रतिपक्षी दलले विज्ञप्ति मात्र निकालेर आफ्नो जिम्मेवारी पूरा गर्दै आइरहेको बेला कांग्रेस विउझिएको छ । अर्थात कांग्रेस अब सपनाबाट विपनामा आएको जस्तो देखिएको छ ।

कांग्रेसका नेताहरुले पाँच वर्षसम्म शासन सञ्चालन गर्ने जिम्मेवारी पाएको कम्युनिष्ट नेतृत्वको सरकार उल्टो बाटोमा हिडेको आरोप लगाएका छन् । उनीहरुले कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद र ओली नेतृत्वको सरकारले जनताको विश्वासमाथि घात गरेको भन्दै प्रधानमन्त्री ओली लोकतन्त्रलाई कमजोर बनाउन लागि परेको बताएका छन् । मुलुकका दुई ठुला पार्टीहरु सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्लो समयमा असफल सावित हुँदै गएका छन् । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ३ वर्षमा जति भूमिका खेल्नुपर्ने थियो त्यो भूमिका खेल्न सकेको देखिएको छैन । कांग्रेस पनि सत्ताधारी दलसँगै भागवण्डामै रुमलिएको थियो ।

विगतमा लामो समयसम्म नेपाली कांग्रेसले शासन सञ्चालन गर्दा अनेक विकृत्तिहरु मुलुकमा भित्र्याएको थियो । २०४६ सालको राजनीतिक परिवर्तन पछि सबैभन्दा बढी सत्ताको सञ्चालन गरेको कांग्रेसले मुलुकमा रहेका उद्योग धन्दाहरु निजिकरणको नाममा बेचेको थियो । २०४६ साल अघिसम्म अबौं नाफा कमाउने जनकपुर चरोट कारखाना हरिसिद्धी इट्टा टाइल कारखाना, बाँसबारी छालाजुत्ता कारखानना लगायत झण्डै १५ वटा कारखाना नेपाली कांग्रेस नेतृत्वकै सरकारले बेचेको थियो । अहिले कांग्रेसले सरकारको विरोध गर्दा हिजो आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका गल्ती र कमी कमजोरीका बारेमा जनतासँग क्षमा मागेको छैन । सत्ताको बागडोर आफ्नो हातबाट उम्किएपछि मात्र कांग्रेसले आँखा देख्ने गरेको सत्य वास्तविकता यहि हो ।

केही समयअघि देखि हिन्दुवादीहरुले मुलुकमा पुन राजनसंस्था स्थापना हुनुपर्ने र मुलुकलाई पुनः हिन्दु राज्य कायम गरिनुपर्ने भन्दै मुलुकभरमै विरोध गरिरहेको अवस्थामा त्यसलाई सरकारको कुशासनको उपज हो भन्नु कांग्रेसका नेताहरुको अल्पज्ञान मात्र हो । कांग्रेसकै नेतृत्वमा निर्माण भै लागु भएको संविधानले जनतालाई आफ्ना कुरा राख्न सक्ने, सभा सम्मेलन नारा, जुलुस गर्ने अधिकार दिएको छ । संविधानले राष्ट्र, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता बाहेक सबै कुरा परिवर्तनीय भनि स्वीकार गरेको अवस्थामा जनताले सडकमा उत्रिएर आफ्ना कुरा राख्न पाउनु जनताको नैसर्गिक अधिकार हो, त्यसलाई कांग्रेसले विरोध गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु सरहमात्र हो ।

footer