भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो
वि.सं.२०७९ जेठ १२ बिहीवार १३:३०
shares

काठमाडौं ।नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ । नेपाल आयल निगमले ७ वैशाखको राति गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँ सम्म नेपाल तर्फ महँगो भएको नेपाल आयल निगमले जनाएको छ ।
अहिले धनगढी नजिकको भारतीय बजारमा पेट्रोलको मूल्य नेपाली रुपैयाँ १७५ छ भने डिजेलको मूल्य १५० रुपैयाँ पर्छ । यता नेपाल तर्फको धनगढी बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८० रुपैयाँ र डिजेलको प्रतिलिटर मूल्य १६० रुपैयाँ पर्छ । विराटनगरमा पनि सीमा क्षेत्रको मूल्यान्तर उस्तै छ । निगमको विराटनगर कार्यालयका अनुसार नेपाली बजारमा १६० रुपैयाँमा पेट्रोल र १८० रुपैयाँमा डिजेलको खरिद बिक्री भइरहेको छ । तर, नजिकैको भारतीय बजार जोगवनीमा डिजेल प्रतिलिटर १५० र पेट्रोल प्रतिलिटर १७५ नेपाली रुपैयाँमा पाइन्छ ।
यता विरगञ्जमा भने डिजेलमा १० र पट्रोलमा ६ रुपैयाँ प्रतिलिटर मूल्यान्तर छ । नेपाल पारीको भारतीय रक्सौल बजारमा १७४ रुपैयाँमा पेट्रोल पाइन्छ भने नेपाल तर्फको १८० रुपैयाँ पेट्रोललाई पर्छ । यस्तै १५० रुपैयाँ नेपालीमा पाइने डिजेललाई नेपाली बजारमा १६० रुपैयाँ पर्छ । नेपाल आयल निगमले उपभोक्ता मूल्य बढाउने र भारतका विभिन्न प्रान्तले इन्धनमा लगाएको कर घटाउने नीतिका कारण नेपाल तर्फ इन्धनको मूल्य महँगो भएको हो ।
यसअघि इन्धनको मूल्य सस्तो भएका कारण नेपाल बाट भारततर्फ इन्धनको तस्करी हुने गर्थ्यो । नेपाल तर्फ इन्धन सस्तो हुँदा तस्करी बढेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य बढाउँदै आएको थियो । तर अहिले भने इन्धनको मूल्य नेपाल तर्फ महँगो भएका कारण भारत बाट तस्करीको जोखिम बढेको छ । जसका कारण सीमा क्षेत्रमा पूँजी पलायनको जोखिम बढ्ने जानकारहरु बताउँछन् ।





































