रूपन्देहीको देवदह नगरपालिकाको कार्यपालिकामा एमाले र राप्रपाका उम्मेदवार बिजयी
वि.सं.२०७९ जेठ १८ बुधवार ०८:५०
shares

रुपन्देही ।रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धनका आठजना सदस्य निर्वाचित भएका छन् ।
स्थानीय तहको निर्वाचनपछि कार्यपालिका सदस्यको लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच गठबन्धन भएको थियो । देवदह नगरपालिकाको कार्यपालिकामा २२ जना हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचन बाट १४ जना निर्वाचित भइसकेको र बाँकी रहेको ८ जनाको लागि निर्वाचन भएको हो ।

देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए । देवदह नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित महिला सदस्य बाट ५ जना र दलित र अल्पसंख्यक बाट ३ जना गरी ८ जना छनोट गर्न बाँकी रहेको थियो ।
कार्यपालिका सदस्यको लागि नेकपा एमालेलाई ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीलाई १ जना गरी सहमति भएको थियो । नेकपा एमाले र राप्रपा बीच भएको सहमति अनुसार महिला सदस्यमा नेकपा एमालेका गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए ।
दलित तथा अल्पसंख्यक तर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।





































