चुनावमा पाएको सफलता सँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने प्रचण्डको आशंका
वि.सं.२०७९ जेठ १८ बुधवार १४:४९
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा पाएको सफलता सँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले भनेका छन्, ‘माओवादीलाई हल्का रुपमा दिने काम नगरोस् ।’
देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावको नतिजा सँगै कांग्रेसका कतिपय नेतामा दम्भ र अहंकार देखिएको बताएका हुन् ।
जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताए । उनले अघि भने, ‘हामीले राम्रा सँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’ यद्यपि अब स्वतन्त्र उम्मेदवारहरुले नै देशभर जित्छन् भन्ने नभएको उनले बताए । प्रचण्डले भने, ‘स्वतन्त्रको राज्य चल्ने भन्ने कुरा विल्कु हुन सक्ने कुरा होइन ।’
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकलाई माओवादी झन् खराब हो कि भन्ने पर्न थालेको पनि बताएका छन् । स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार प्रचण्डले अहिले अरु दल र माओवादी बीचको फरक मेटिएको बताए ।
‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ’ प्रचण्डले भने, ‘हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादी बीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो कुरा होइन ।’
विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो कम हुँदै गरेको उनले बताए । उनले भने, ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं । हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो ।’






































