कालीगण्डकीको बिजुली आज राति १२ बजे देखि भारत निर्यात सुरु
वि.सं.२०७९ जेठ २१ शनिवार २०:३६
shares

काठमाडौं ।कालीगण्डकी ए विद्युतगृह बाट उत्पादित विद्युत शनिबार देखि भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृह बाट उत्पादित विद्युत राति १२ बजे देखि सुरु निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारदेखि त्रिशुली र देवीघाट जलविद्युगृह बाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ ।
कालीगण्डकीको पनि सुरु भए सँगै प्राधिकरणले निर्यात गर्ने विजुली दैनिक १७७.७ मेगावाट पुग्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ । नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी बढी भएको विजुली भारत निर्यात गर्न थालिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार राति देखि निर्यात हुने विजुलीको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’, घिसिङले भने । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ ।
प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विजुलीको अधिकतम मूल्य भारु १२ (१९.२ नेरु) र न्युनतम २.४९ (३.९८ नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) थियो । यसैगरी, शनिबार प्रधिकरणले अधिकतकम प्रति युनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु) मा विजुली बिक्री गरेको छ ।






































