आज भोटो जात्रा मनाइयो
वि.सं.२०७९ जेठ २१ शनिवार २०:४२
shares

काठमाडौं ।वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत शनिबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याइएको चौथो दिन शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।
भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारी सँगै उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री बालकृष्ण खाँण सहितका मन्त्रीहरु, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहितका पदाधिकारीहरु जाउलाखेल पुगेका थिए । भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणि जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।
त्यस अवसरमा राष्ट्रपति भण्डारी र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरे । विगत दुई वर्ष सम्म कोरोना महामारीका कारण रातो मच्छिन्द्रनाथको जात्रामा भोटो देखाउने जात्रा सांकेतिक रुपमा मात्र गरिएको थियो । बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूत सँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका एक जना ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाण सहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।




































