जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका ललितबहादुर कुँवर निर्वाचित
वि.सं.२०७९ जेठ २१ शनिवार २०:४६
shares

डोटी ।जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे ।
नवनिर्वाचित जिसस प्रमुख कुँवर अछाम साँफेवगर नगरपालिका–८ बाट ३ सय ८५ मत प्राप्त गरी नगरसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही निर्वाचित भएकी छन् । उनले पनि १२ मत प्राप्त गर्दै एमाले उम्मेदवार पुतलीदेवी रावललाई पछि पारेकी हुन् । दानमती पञ्चदेवल नगरपालिका–४ बाट ५ सय ८० मत सहित नगरसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
जिल्ला समन्वय समितिका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच गठबन्धन भएको थियो । समन्वय समिति सदस्यहरुमा कांग्रेसका तर्फ बाट नरेन्द्र कुँवर, लक्ष्मी सुवर्णकार, द्वारिका उपाध्याय, पूर्ण रावलले र चक्राकुमारी रावल गरी पाँच जना निर्वाचित भएका छन् । माओवादी बाट प्रनाथ विक र एकीकृत समाजवादी बाट सीता भण्डारी निर्वाचित भएका छन् ।
१० स्थानीय तह रहेको अछाममा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर ११, एमालेले ६, माओवादीले दुई र समाजवादीले एक पद जितेको छ । संविधान अनुसार जिल्ला सभामा जिल्ला भित्रका पालिकाका प्रमुख उपप्रमुखहरु रहने व्यवस्था छ । जिल्ला सभाले निर्वाच नमार्फत गाउँ/नगर सभाका सदस्यहरु मध्ये बाट जिल्ला समन्वय समिति छान्ने व्यवस्था रहेको छ ।




































