प्रधानमन्त्रीले भन्दैमा अर्थमन्त्री शर्माले देलान राजिनामा ?
वि.सं.२०७९ असार १ बुधवार १५:२८
shares

काठमाडौं । सडक देखि सदन सम्म बिरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई बालुवाटार बोलाएर चाँडो राजीनामा दिएर वातावरण सहज बनाउन निर्देशन दिएका छन् । उनले अब राजीनामा बिना देशको राजनीति सहज बाटोमा आउने संकेत नदेखिएको भन्दै अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका हुन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले बुधबार बिहान अर्थमन्त्रीलाई बोलाएर बजेट पारित लगायतका विषयमा छलफल गरेका हुन् । उनले अर्थमन्त्रीमा बसिरहँदा बजेट पास गराउन नसकिने र बजेट ढिलो हुँदा अन्य महत्वपूर्ण अध्यादेश देखि आगामी निर्वाचनलाई समेत प्रभावित बनाउने भन्दै राजीनामा दिएर बस्न भनेका छन् ।
संसदमा प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा बिना बैठक चल्नै नदिने र संसदीय समिति बनाएर छानविन गर्न माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई बोलाएर बजेटमा भएको सत्य तथ्य बारे जानकारी लिएका छन् । लामो समयपछि संसदमा क्रियाशील रहेको प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीको राजीनामा मागेपछि प्रधानमन्त्री समेत अप्ठ्यारोमा परेका छन् । प्रधानमन्त्रीको भनाइ बारे स्रोतले भन्यो,‘ मेरो तपाइलाई हटाउने इच्छा थिएन । तर, परिस्थिति बदलिएर आएको छ । छानविन गर्न पनि समय लाग्छ । अहिले धेरै कुराले सरकार समस्यामा परिरहेको बेला तपाईले राजीनामा नदिँदा सरकार र पार्टीहरुलाई पनि समस्या हुन्छ ।त्यसकारण राजीनामा दिएर सहजीकरण गर्नुस् ।’
बुधबार प्रधानमन्त्रीले पछिल्लो समय देखिएका विवादका विषयमा अर्थमन्त्री शर्मा सँग प्रश्न गरेका थिए । शर्माले आफुलाई नियोजित रुपमा फसाउन खोजिएको जवाफ दिएका थिए । ‘प्रधानमन्त्रीले बोलाउनु भएको थियो, अर्थमन्त्रालयमा के भएको हो, यसको निकास के हो भन्ने बारेमा प्रश्न गर्नु भएको छ’, स्रोतले भन्यो । अनधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्री शर्माले बजेट निर्माणमा गरेको ‘चलखेल’माथि संसदीय छानविनको माग गर्दै प्रमुख विपक्षी एमालेले संसद अवरोध गरेपछि प्रधानमन्त्रीलाई समेत दबाब परेको छ । अर्थमन्त्री शर्माले ‘वित्तीय अपराध’ गरेको भन्दै एमाले सांसदले बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने जनाएका छन् ।
राजश्व, करका दर परिवर्तन, दायरा निर्धारण गोप्य रूपमा हुनुपर्नेमा अनाधिकृत व्यक्तिको चलखेल भएकोमा संसद र संसद बाहिर तीब्र आक्रोश छ । बजेट निर्माण प्रकृयामा अर्थमन्त्री, दुई अर्थसचिव, दुई सहसचिव तथा भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशक भन्दा एक जना पनि बढी सहभागी हुँदैनन् । बजेट तर्जुमा कार्यविधि नै छ । त्यही अनुसार करको दर परिवर्तन गर्ने, निर्धारण गर्ने काम गरिन्छ । तर अर्थमन्त्रीले एक जना पूर्व नायव सुब्बालाई बजेट निर्माणमा सहभागी गराएको आरोप छ । साथै अर्थमन्त्रीलाई माओवादी अध्यक्ष प्रचण्डले बोलाएर सहजीकरण गरिदिन आग्रह गरेको भएपनि उनले अटेर गरिरहेका छन् । माओवादी भित्र दुई लाइन संघर्ष भैरहेको बेला शर्मालाई बोलाएर प्रचण्डले सहजीकरण गरिदिन आग्रह गरेको स्रोतको दावी छ ।





































