पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडक सहित घर भासियो
वि.सं.२०७९ असार १२ आइतवार १०:४५
shares

पोखरा ।केही दिन देखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडक सहित एक घर भासिएको छ ।
फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए । ‘सडक वारि र पारि गरेर पूर्ण रुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ,’ वडाध्यक्ष पराजुलीले भने, ‘घर ओढार जस्तो भएको छ ।’
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ सहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ । सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिन भित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।




































