मन्त्री झाँक्रीले गुहारीन कामु प्रधानन्यायाधीश कार्कीलाई
वि.सं.२०७९ असार १२ आइतवार १६:००
shares

काठमाडौं ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की सँग आइतवार भेट गरेकी छन् । अदालतको आदेशका कारण विकास निर्माणको काम प्रभावित भएको भन्दै झाँक्रीले कामु प्रधानन्यायाधीश कार्की सँग भेट गरेकी हुन् ।
सर्वोच्च स्रोतका अनुसार कामु प्रधानन्यायाधीश कार्कीको कार्यकक्षमा पुगेर मन्त्री झाँक्रीले विकास निर्माणको आयोजना, परियोजना आदिको विषयमा अन्तरिम आदेश गरिँदा विकास निर्माणको काम नै प्रभावित हुने गरेको गुनासो गरेकी थिइन् । ‘मन्त्रीज्यूले विकास निर्माणको आयोजना आदिमा अन्तरिम आदेश गरिँदा विकास निर्माणको काम प्रभावित हुन गएको हुनाले छिटोभन्दा छिटो अदालतले विचाराधीन अवस्थामा रहेका मुद्दाहरू टुंग्याइदिनुपर्ने भनेर भन्नु भएको थियो,’ सर्वोच्च स्रोतले भन्यो ।
कामु प्रधानन्यायाधीश कार्कीले पनि ऐन, नियम, कानून अनुसार अदालतले गर्ने, अदालतले छिटो भन्दा छिटो फैसला गर्न सकोस् भन्ने आफ्नो पनि चासो रहेको जवाफ दिएका थिए ।दुवै जना बीच २० मिनेट जति भेटवार्ता भए पनि राजनीतिक कुरा केही पनि नभएको सर्वोच्च स्रोतले बतायो । झाँक्री सहित नेकपा (एस)बाट मन्त्री बनेका चारै जनालाई पार्टीले सरकारबाट फिर्ता बोलाएको छ ।





































