डा बाबुराम भट्टराई अल्पमतमा, कसले छोडे बाबुरामको साथ ?
वि.सं.२०७९ असार १६ बिहीवार १४:५५
shares

काठमाडौं ।जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पार्टीमा अल्पमतमा परेका छन् । स्थानीय चुनाव अघि र पछि सम्म पनि पार्टी भित्र बहुमतमा रहेका अध्यक्ष भट्टराई अहिले आएर अल्पमतमा परेका हुन् ।
भट्टराईलाई सुरु देखि साथ दिएका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य इस्तियाक राइ, प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य प्रदीप यादव, राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, सांसदहरू रुही नाज, प्रज्ञा ढकाल लगायत अहिले उनलाई छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागि सकेका छन् ।
यी मध्ये कतिपय नेताहरूले अध्यक्ष भट्टराई पक्षमा हस्ताक्षर नगरे पनि आवश्यक परे साथ दिने आश्वासन दिनुका साथै गुटको बैठकहरूमा पनि सहभागी हुँदै आएका थिए । तर पछिल्लो समय उपेन्द्र यादवले बोलाएको कार्यकारिणीको अनौपचारिक बैठकमा उनीहरू लगायत अध्यक्ष भट्टराई पक्षका अन्य नेताहरू पनि सहभागी भएका थिए । सोही बैठकपछि अध्यक्ष यादवको पक्षमा बहुमत जुटेको कतिपय नेताहरूको भनाइ छ ।
भट्टराईले स्थानीय चुनाव अघि बहुमत सदस्यहरूको हस्ताक्षर गराएर नै बसेका थिए । विभाजनको संघारमा पार्टी पुगिसके पनि चुनाव सम्मका लागि त्यसलाई थाँती राखिएको थियो । चुनाव सकिने बित्तिकै अध्यक्ष भट्टराईले पुनः त्यही कुरा उठाएर हस्ताक्षर अभियानलाई जारी राखे ।






































