आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेस सँगै सहकार्य हुन्छ : प्रचण्ड
वि.सं.२०७९ साउन १२ बिहीवार १५:१७
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेस सँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थिति बारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमाले सँग भने सहकार्य सम्भव नभएको बताएका हुन ।
‘कांग्रेस सँग नै सहकार्य गर्ने हो, अब दायाँ–बायाँ सोच्नुहुन्न,’ प्रचण्डको भनाइ उद्धत गर्दै स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘एमालेसँग सहकार्य सम्भव छैन ।’ प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयास बारे पनि जानकारी गराएका थिए। हालको गठबन्धन भित्रकै वापमन्थी दलहरु बीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समिति बारे कुरा नटुंगिएको बताएका थिए ।
‘गठबन्धन भित्रै वामपन्थीहरुको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुंगिएको छैन,’ बैठकमा प्रचण्डले भनेका थिए । पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि शुक्रबार पनि बैठक बस्ने गजुरेलले जानकारी दिए ।




































