अमेरिकी सहायक बिदेशमन्त्री लु नेपाल आई पुग्दा गौशालामा बिरोध प्रदर्शन
वि.सं.२०७९ साउन १२ बिहीवार १७:३४
shares

काठमाडौँ – आजै काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु विरुद्ध प्रदर्शन भएको छ। सहायक विदेशमन्त्री लु विमानस्थल बाट होटल तर्फ जाने क्रममा गौशाला नजिकै तिलगंगामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८ पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले नाराबाजी गरेपछि केहीबेर सडक अवरुद्ध समेत भएको थियो। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना सम्बन्धी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनुअघि नेपाल आएका लु बिहीबार फेरि नेपाल आएका हुन्।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु दुई दिने नेपाल भ्रमणमा आएका हुन्। उनले नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत उच्च अधिकारीहरु सँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


































