राष्ट्रिय सभाले नागरिकता विधेयक अस्वीकार गरोस्
वि.सं.२०७९ साउन १३ शुक्रवार ०९:०६
shares

काठमाडौ । गत शुक्रबार श्रावण ६ गते प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित गरिएको छ । बहुमतका आधारमा पारित गरिएको भनिएको नागरिकता विधेयक पारित हुँदा ४५ जना सांसदले मात्र समर्थन जनाएका थिए ।
नागरिकता जस्तो सम्वेदनशिल विधेयक पारित हुँदा किन धेरै सांसदहरु संसदमा उपस्थित भएन र उनीहरु मध्येका केहीले हाजिर गरेर बाहिरिए यो नै चर्चाको विषय बनेको छ ।
सांसदहरुको काम भनेकै सरकारले संसदमा पेश गरेका विधेयकहरु माथि व्यापक छलफल गरेर सरकारले पेश गरेको विधेयकहरुमा कमी कमजोरी देखिए त्यसलाई सच्चाउने हो तर सांसदहले जनताले दिएको अधिकारलाई प्रयोग गर्न सकिरहेका छैनन् किन ?
प्रतिनिधिसभाबाट नागरिकता सम्बन्धी विधेयक पारित भएपनि त्यसको जस लिन राजनीतिक दलका नेताहरु तछाँड मछाँड गरेर लागि परेका छन् । आउँदो मंसिरमा हुने भनिएको संघीय संसद र प्रदेशसभाको निर्वाचनमा नागरिकता विधेयकलाई हतियारको रुपमा आ आफ्नो पार्टीको मत बढाउने कार्यमा प्रयोग गरिने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकै भोलिपल्ट जनकपुरमा पुगेर आफ्नो कारणले गर्दा नै नागरिकता विधेयक पारित भएको बताईसकेका छन् ।
अध्यक्ष दाहालले मधेशका जनताको माग नागरिकता सम्बन्धी रहेको र त्यो कार्य आफूले पूरा गरेको भन्दै आउँदो निर्वाचनमा आफ्नो पार्टीलाई मत दिन आग्रह समेत गरेका छन् । यसरी नागरिकता जस्तो सम्वेदनशिल विषयलाई मतमा साट्ने प्रयास आपत्तिजनक रहेको छ ।
अंगिकृत नागरिकता लिएका बाबुआमाका सन्तानले अब बंशजको नागरिकता पाउने भएपछि उनीहरु राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सेनापति लगायतका सबै पदमा पुग्न सक्छन् ।
संविधनले अंगिकृत नागरिकता लिएका व्यक्ति त्यस्ता पदमा जान योग्य नहुने उल्लेख गरेका भएपनि अंगीकृत नागरिकता लिएका सन्तानले ती पदमा जान पाउने कि नपाउने नागरिकता विधेयकमा नबोलेको हुनाले जसरी फिजीमा भारतीय मूलका व्यक्तिले सत्ता कब्जा गरे त्यसैगरी नेपालमा पनि अबको केही वर्षभित्रैमा भारतीय मूलका व्यक्तिले नेपालको सत्ता कब्जा गर्ने प्रायः निश्चित जस्तै रहेकाले गर्दा प्रतिनिधिसभाबाट पारित भै राष्ट्रिय सभामा पुगेका नागरिकता सम्बन्धी विधेयक राष्ट्रियसभाले अस्वीकार गर्न सक्नुपर्दछ ।
मुलुकका अस्तित्व बचाउन र नेपाललाई फिजीकरण हुनबाट जोगाउने कार्यमा राष्ट्रिय सभा चुक्नु हुँदैन ।




































