kumari
stcnepal

आयल निगम निजीकरणको कुरा आधारहीन हुन्, तथ्यहीन हुन् : आपूर्तिमन्त्री बडू

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण नगरिने बताएका छन् । आइतबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बोल्दै उनले आयल निगमलाई निजीकरण गर्न खोजेको भन्दै भ्रम फैलाउने काम भएको बताए ।

‘यी सबै कुराहरु भ्रामक हुन । आधारहीन हुन्, तथ्यहीन हुन् । तथ्य कुरा त के हो भने यसलाई निजीकरण गरिनेवाला नै छैन । पेट्रोलियम पदार्थको काम नेपाल आयल निगमले नै गर्ने हो । तर यसमा सुधार गर्नुपर्छ भन्ने मात्रै कुरा हो’ उनले भने ।

सरकारको नीति तथा कार्यक्रम माथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निगमलाई निजीकरण गर्न अर्बौंको चलखेल भएको टिप्पणी गरेका थिए । मन्त्री बडुले आरोप लगाउनेले नै त्यसलाई पुष्टि गर्नुपर्ने टिप्पणी गरे । पेट्रोलियम पदार्थमा देखिएको घाटा कम गर्न विद्युतको खपत बढाउनुपर्ने मन्त्री बडुले बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले हाल नेपाल आयल निगम करिव ५० अर्ब घाटामा रहेको बताए । अहिले भारतीय आयल कर्पोरेसलाई २२ अर्ब ४० करोड रुपैयाँ तिर्न बाँकी रहेको पनि उनले जानकारी गराए ।

footer