सभापति र दुई उपसभापति अनुपस्थित भएपछि गगनको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक
वि.सं.२०७९ साउन २५ बुधवार १५:१४
shares

काठमाडौं ।सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । १४ औं महाधिवेशन बाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठक अध्यक्षता गरेका हुन् ।
सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएका उनको सचिवालयले जनाएका छन् । त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा रहेका कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । स्थानीय तहमा पार्टी बाट निर्वाचित जप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको एक पदाधिकारीले जानकारी दिए ।
कांग्रेसमा सभापति, २ जना उपसभापति, २ महामन्त्री, ८ जना सहमहामन्त्री र प्रवक्ता गरी १४ जना पदाधिकारी छन् । सभापतिले नियुक्ति गर्ने कोषाध्यक्ष पद खाली छ ।





































