एकै जिल्ला बाट समानुपातिकमा १५ जना सांसद
वि.सं.२०७९ मंसिर २६ सोमवार ०७:३२
shares

धनुषा ।मधेश प्रदेशमा एकै जिल्ला बाट संघीय संसद प्रदेश सभामा गरी १५ जना समानुपातिक सांसद चयन भएका छन् । धनुषा बाट प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ पाँच जना र मधेस प्रदेश सभाका लागि १० जना सांसद छानिएका हुन् । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, मुक्ताकुमारी यादव, एमालेबाट प्रतीक्षा तिवारी मुखिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा, जनमत पार्टीबाट अनितादेवी साह समानुपातिक सदस्यमा छनाेट भएका हुन् ।
माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने समानुपातिककाे सूचीमा धनुषा बाट कसैकाे नाम समावेश गरेकाे छैन । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि पटक पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष बाट निर्वाचित भएका थिए । तर यस पटक कांग्रेसले उनलाई समानुपातिक कोटामा राखेको छ ।
यस्तै एमाले बाट समानुपातिककाे सूचीमा पर्नु भएकी मुक्ताकुमारी यादव दोस्रो संविधान सभा चुनावमा नेपाली कांग्रेसबाट मनोनीत भएका थिए । एमालेबाट समानुपातिक सांसद बनेकी प्रतीक्षा तिवारी मुखिया पनि संविधान सभा २ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य बनेका थिए । माओवादी परित्याग गरेपछि यसपालि उनलाई एमालेले समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको छ ।
मनिष झा र अनिता देवी साह भने पहिलाे पटक सांसद बनेका हुन् । अनिता देवी साह जनकपुरधाममा भएको बमकाण्डमा दोषी देखिएपछि जेल पर्नु भएका पूर्व मन्त्री सञ्जय साह टकलाकी बहिनी हुन् । प्रदेश सभामा समानुपातिकतर्फ कांग्रेसबाट अञ्जना पण्डित, एमालेबाट पलेटीदेवी महरा, पल्टीदेवी यादव, फुलोकुमारी देवी, शिला यादव, नाजिमा खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत यादव, माओवादीबाट शारदा दास पहाडी, सुनिता यादव र जसपाबाट ममता मण्डलकाे नाम पठाइएकाे छ ।
एमालेबाट रघुवीर महासेठ र उनकी पत्नी जुलीकुमारी महतो भने प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाटै विजयी भइसकेका छन् । महासेठ धनुषा क्षेत्र नम्बर ४ र महतो धनुषा ३ बाट विजयी भएका हुन् । यस्तै, एमालेले प्रदेश सभामा धुनषाबाट एकै पटक पाँच जनालाई सांसद बनाएको छ । धनुषा २ (१) बाट लखन दास, धनुषा ४ (२) बाट हरिनारायण महतो, धनुषा ३ (२) मा दिपेन्द्र ठाकुर, धनुषा १ (२) बाट रामचन्द्र मण्डल विजयी भएका छन्। मधेस प्रदेशमा धनुषा जिल्लाबाट नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, जनमत, लोसपा र राप्रपाबाट भने समानुपातिकतर्फ सांसद चुनिएका छैनन् ।




































