kumari
stcnepal

सक्षम लोकतन्त्र, असक्षम नेतातन्त्र

 

राजन कार्की
विश्वमा सर्वोत्कृष्ठ व्यवस्था भनेकै लोकतन्त्र मानिएको छ । नेपालमा लोकतन्त्रलाई नेतातन्त्र बनाइयो र असक्षम नेतातन्त्रका कारण लोकतन्त्र बदनाम हुनपुगेको हो । नेपालको लोकतन्त्रको अर्को नाम भ्रष्टाचारतन्त्र बन्न पुगेको देखिन्छ ।
सबैलाई थाहा छ, राजनीतिज्ञहरूले आफ्नो स्वार्थ हेर्छन्, स्वार्थअनुसार निर्णय गर्छन् । जनआन्दोलनपछि राजनीतिक स्वार्थ त पूरा भयो, देशले लामो समय संक्रमणमा बिताउनु प¥यो, जनताले ठूलो मूल्य चुकाउनु परिरहेको छ । यो संक्रमणको अर्को वेभ, अर्को ज्वारभाटा आउनेवाला छ, देशभरि भय फैलिएको छ ।
इतिहासको यो कटुसत्य अझै राजनीतिक मुद्दा बनिरहेके छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठक डाकियो, कांग्रेसका वृद्ध नेता कुलबहादुर गुरूङले सभापतित्व गर्ने निधो पनि भयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । प्रचण्डले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति तपाईं भनेर गिरिजाप्रसादलाई पूर्ण विश्वास दिलाइसकेका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफै अग्रसर हुन नसकेर उनका तर्फबाट चुनाव हारेका कृष्णप्रसाद सिटौलाले गणतन्त्र कार्यान्वयनको प्रस्ताव टेबुल गरे, सबैले टेबुल ठोके, लोकेन्द्रबहादुर चन्दले समेत टेबुल ठोकेका थिए, प्रस्ताव पास भयो । अर्थात् अबैध तरिकाले गणतन्त्रको प्रस्ताव संविधानसभामा पेश भयो, पारित भयो । अबैध भएकै कारणले हो कि गणतन्त्र गणका लागि सही हुनसकेन । गणका नेता हँु भन्नेहरुले गणतन्त्रको चास्नी चाटिरहेका छन् ।
अवैध तरिकाले गणतन्त्र आयो, किन, केका लागि, कसको अभिष्ट पूरा गर्न ? जनआन्दोलनको निरङ्कुशता विरोधी जनादेश कसरी राजतन्त्र उन्मूलन गर्ने एजेण्डा बन्यो ? यो एजेण्डाका लागि दबाब दिने को को थिए, कहाँ कहाँबाट दबाब आएको थियो । कुलबहादुर गुरूङ ज्यूँदै छन्, उनी भनिरहेका छन्– मैले दबाब रोक्न सकिन, मलाई बाध्य पारिएको थियो । यो रक्तपात विहिन कोतपर्व कसकसको दबाबमा सम्पन्न गरियो ? कोतपर्वले देश र दुनियाँले सकस बेहोर्नुप¥यो, लोकतन्त्रको कोखबाट नयाँ नयाँ जंगबहादुर जन्मिए, जो शासन र सत्तामा सेटिङ् र गठबन्धन राणा शासन चलाइरहेका छन् ।
आर्थिक, सामाजिक, राजनीतिक सङ्कट बढ्यो । सीमा अतिक्रमण र कूटनीतिक हस्तक्षे पनि बढेको छ । भारतले नेपाली भूमि आफ्नो नक्सामै हाल्यो । नेपाली भूमिमा कलभर्ट, बाँध बनाएकै थियो, अव राजमार्ग नै बनाउन थाल्यो । नेपालमा डेढलाख पेन्सनरलाई पेन्सन बितरण गर्ने नाममा नेपालभरि फैलिएका क्याम्पमा खटिएका भारतीय सिभिल डे«सका सैनिकहरू सूचना लिइरहेकै छन् । पहिले मन्त्रीले नै मन्त्रिपरिषदको निर्णय चुहाउँथे, एकजना मन्त्रीले त जुत्ताको तलुवामा निर्णय हालेर दूतावासमा बेचेको, ट्वाइलेट जाँदा टेलिफोनबाट निर्णय लिक गरेको खबरहरू पनि सार्वजनिक भएकै हुन् । प्रवुद्ध समूहको गोप्य रिपोर्ट गोप्य नै छ, तर चीन र भारतसँग त्यसका प्रतिलिपिहरू पहिले नै पुग्यो, मुसाले पु¥याएन होला ? नेपाल यस्तो देश हो । जहाँ ००७ सालपछि क्याविनेट निर्णय गर्न गराउन दिल्लीले गोविन्द नारायण सिंहहरू पठाएको थियो । राजा महेन्द्रले दिल्लीका दूतलाई रोक लगाएपछि भारतले धेरै नेताहरूलाई नै गोविन्दनारायण सिंहका रूपमा पालिरहेको छ । अहिले त उत्तर, पश्चिम, इयुजस्ता शक्तिराष्ट्रहरुले शासन प्रशासनसम्म नै सयौं गोविन्दनारायणहरुलाई हल्दार बनाएको छ । जो हरदम, विदेशी डलरका सामु ‘यस् सर’ गरिरहेका छन् ।
नेपालमा कुन कुन शक्तिको उपस्थिति छ भन्न मुस्किल छ । यहाँसम्म कि संवेदनशील भनिएको मुस्ताङ्को बगरमा समेत कलेज खोल्न विदेशी अग्रसर भएका छन् । यति हुँदा पनि न संसद, सरकार, नागरिक समाज, थिङ्क टेंक बोल्छन् । सबका मुखमा कसले कुन प्रकारको बुझो कोचिदिएका होलान् ? अचम्म लाग्छ ।
बुद्धिजीवीहरु भन्छन्– अब एसियाबाट विश्वयुद्धको छनक आउन थाल्यो । अबको युद्ध आणविक युद्ध नै हो । एसियामा विश्वशक्तिहरु झुम्मिन थालिसकेका छन् । यसमा नेपाल केन्द्रमा छ । नेपालको राजनीतिक बर्ग कमजोर भइदिंदा यो खतरा अरु बढेर गएको छ ।
चीन भन्छ– भारत अमेरिकी जालमा परिसकेको झिंगाभन्दा बढी केही होइन । भारत भन्छ– नेपाल चीनतिर ढल्केको छ । बाइबल पढ्नेले पढे हुन्छ– २१औं शताव्दी एङ्लो रेसको शताब्दी हो । यो कुरा अमेरिकालाई भन्दा बढी अरुलाई के थाहा होला र ? चीन सन २०३० मा अर्थतन्त्रमा, २०४० मा सैनिक अस्त्रसस्त्रमा र २०५० मा विश्वशक्ति हुने योजनासहित अघि बढेको छ । यही उद्देश्यका लागि तेस्रोपल्ट सी चिनफिङ् राष्ट्रपति बनेका छन् । उनले माओ र तेङ् सियाओपेङ्को पद्धति विकासलाई समेत चुनौति दिएर अघि बढेका छन् ।
नेपाल भने २०६३ सालमा करण सिंहलाई साक्षी राखेर गरिएको परिवर्तनमा के के सर्त बन्देज थियो भन्नेसम्मको खुलासा पनि गर्न नसकेर नेतातन्त्रलाई गणतन्त्र, लोकतन्त्र मानेर गुम्सिरहेको छ । नेपाल नेपाल नीतिमा होइन, उत्तर, दक्षिण, पश्चिमाको नीतिमा लठ्ठिएर स्वाँ स्वाँ गर्दैछ ।
चीनको बिआरआईको बढ्दो घेरावन्दीलाई कसरी तोड्नुपर्छ अमेरिकाले बुझेको हुनुपर्छ । भारतको हैसियत चीनले बुझेको छ । जसरी १९६२ मा युद्धबाट बहादुरीका साथ पिछे हटेंगे भन्न भारत बाध्य भएको थियो, भुटानको दोक्लाममा पनि गत वर्ष भारत बहादुरीका साथ पिछे हटेकै हो । अहिले लद्दाख, गलवानमा चीनले भारतको पसिना कढाइरहेको छ । केही वर्ष अघि सीमाविवाद बढेपछि चीनले रातको १ बजे बेइजिङस्थित राजदूत निरूपमा राव मेनन (जो विश्व प्रभावकारी महिला मानिन्छिन्) लाई समन जारी ग¥यो । एकघण्टा कुराएर सातो लिएर पठाएको थियो । भोलिपल्ट भारतले दिल्लीस्थित राजदूतलाई रातमा होइन, अफिस टाइममा बोलाएर स्पष्टीकरण दिनुपरेको घटनाले भारतको हैसियत प्रष्ट हुन्छ । अहिले भारतका विदेशसचिव बिनयमोहन क्वात्रा नेपाललाई तर्साउने र बसमा पार्ने सपेराजस्ता देखिन्छन् । नेपालको सत्ता परिवर्तनको ताजा दृश्य क्वात्राकै नापनक्सा हो ।
हुन त भारत र चीनबीच कूटनीतिक सम्बन्धमा चिस्सिए पनि व्यापारिक सम्बन्ध सुमधुर छ । सिक्किम भएर व्यापार भइरहे पनि हालैका दिनमा चीनका विज्ञ विशेषज्ञहरु भारतलाई तह लगाउनका लागि भन्न थालेका छन्– सिक्किम स्वतन्त्र हुन चाहन्छन् भने चीनले सिक्किमको साथ दिनुपर्छ । जे होस्, अमेरिका–भारत एकातिर, अर्कोतिर चीनको मोर्चा कस्सिदै गएको छ ।
वर्तमान विश्वमा अमेरिका, रूस र चीन सुपर पावर हुन् । वैज्ञानिकहरू भन्छन्– अमेरिकासँग विश्वलाई दुईपटक र रूससँग सातपटक समाप्त पार्ने हतियार छ । चीनसँग के कति हतियार छ, खुलेको छैन तर रूस र चीन निकट छन् । रूसका पुटिन र चीनका सी चिनफिङको बढ्दो मित्रता, उत्तर कोरिया र पाकिस्तानको आणविक विकासले चीनलाई शक्तिशाली बनाउँदै लगेकोमा भारो अमेरिकी धुरी असिन पसिन हुनु स्वभाविक हो । तथापि प्रश्न उठ्छ, रुस र युक्रेनबीच वर्षदिनदेखि युद्ध चलिरहेको छ । किन ? यो युद्धको अन्त्य किन हुन सकेन ? यो अर्को भुलभुलैयाजस्तो लाग्छ ।
नेपालका दुई छिमेकी चीन र भारत, चीनका १८ छिमेकी छन्, भारतबाहेक कुनै छिमेकी रूष्ट देखिदैनन् । भारतका १४ छिमेकी राष्ट्र छन्, भारतसँग मन नदुखाउने कुनै छिमकी छैनन् । यसबाट थाहा हुन्छ भारत कति कमजोर छ । चीन कति चलाख ?
नेपालमा इसाइ र मुसाइकरण बढेको छ । मुसाइकरण फाट्टफुट्ट हो । त्यो पनि पाकिस्तानी आतंककारीका नाममा भारतीय आईबीको चलखेल हुनसक्छ । नेपालबाट पाकिस्तानी आतङ्कवादी घुसपैठ भइरहेको प्रचार गरिरहेछ भारत । नेपालले लामो समयदेखि खुला सीमा नियमन गर्न, आवश्यक परे मुख्य नाकाबाहेक तारजाली लगाउने कुरा उठाउँदा भारत एउटा कानले सुनेर अर्को कानले उडाउँछ । मोदी र ओलीको सहमतिमा गठित प्रबुद्ध समूहको रिपोर्टमा यही कुरा उल्लेख थियो, जुन कहिले सार्वजनिक हुनसकेन । कहिले रोटी बेटीको सम्बन्ध, कहिले सानो भाइ ठान्छ भारत । भारत नेपाललाई समानताको दृष्टिले हेर्दैन । भारत नेपालसँग युद्धको जस्तो तनावपूर्ण स्थितिबाट अस्थिरता निर्माण गरेर समस्या छैन भनिरहेको छ । भारत नेपालमा प्रभाव कायम राख्न चाहन्छ ।
पश्चिमा यसकारण पनि नेपालमा सक्रिय छन् । उनीहरू ताइवान र तिब्बतमा प्रजातन्त्र चाहन्छन् । स्वतन्त्रता चाहनछन् । चीनको विश्वशक्ति हुने महत्वाकांक्षालाई तोड्न यही नै कडी पनि हो ।
नेपालका सामु यक्ष प्रश्न छ– बढ्दो उकुसमुकुसबाट नेपाली निस्कने कसरी, बाघ भिडन्तबाट नेपाललाई बचाउने कसरी ?
जान्नेबुभ्mनेहरू पार्टीका कार्यकर्ता बनेका छन्, सोझासाझाहरू अभिभावक विहीन टुहुरा नियति भोगिरहेका छन् । देश– बनमारा झार र रूखविरूवामारा ऐंजेरू हल्किएको खोरिया बनिसक्यो । चेतना छ, चेतनाले मान्छेहरूलाई सक्रिय पारेजस्तो लाग्दैन । कांग्रेसका लौहपुरूष स्व.गणेशमान सिंहले भनेजस्तो जनता भेडा हुन्, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले भनेजस्तो संसद भेडीगोठ हो । एउटा राजा फालेर सिंहदरवारमा २५, प्रदेशमा ७, जिल्लामा ७७, महानगरमा ६, उपमहानगरमा ११, नगरमा २७६, गाउँपालिकामा ४६० र वडासम्म ६७४३ राजाहरू जन्माइएका छन् । असफल संघीयता, भूतपूर्व विशिष्टहरुलाई लाभैलाभ, गरिखाने श्रमिक, आमनागरिक, किसान मरेको म¥यै, यो लोकतन्त्रको हँसीमजाक नभए के हो ?
खुशी र चैन कसैलाई छैन, सबै छटपटीमा छन् । धर्म र राजा फाल्नेहरू लघुताभाषमा छन्, राजाको हौसला बुलन्द छ । पूर्वराजा राजनीति गर्नेहरूको बुद्धि बंगारो पलाओस् भन्ने प्रतिक्षामा छन् अझै ।
चीन भारतवीचको झगडाको एउटा दृष्टान्छ– भारतको २२ जनाको वार्ताटोली चीन जानु थियो । चीनले २१ जनालाई भिसा दियो, एकजनालाई दिएन । किन भनेर प्रश्न गरे भारतको विदेश मन्त्रालयका अधिकारीले । चीनले भनिदियो– एकजना अरूणाचल प्रदेशका रहेछन्, उनी त चीनकै नागरिक हुन्, उनलाई भिसा चाहिदैन, जहिले आए पनि स्वागत छ ।
चुरो कुरो, नेपाली नेता, प्रशासक, विचारकहरूले आधार, अस्तित्व, विश्वास गुमाउँदै गएका छन् । विश्वशक्ति शक्तिकेन्द्र बन्ने होडमा हुन्छन्, नेपालका नेताहरु स्वराजको पक्षमा, शान्ति र समृद्धिको पक्षमा आपूmलाई अब्बर सावित गर्न नसकेर मैनझैं पग्लदै गएका छन् ।
जनता नजागे, जेठो मुलुक नेपालको सतित्व खतरामा पर्ने भयो ।

footer